धनगढी: सुदूरपश्चिम प्रदेशमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) नेतृत्वको सरकार बनेको १० दिन मात्रै भएको छ । २९ साउनमा नेकपा संसदीय दलका नेता खगराज भट्ट मुख्यमन्त्री नियुक्त भएका थिए । ५ साउन मात्रै सरकार पूर्णता पाएको थियो । आफ्नै पार्टीको नेतृत्वमा सरकार बनेको १० दिनमै नेकपाका एक सांसदले भने आफूहरूका माग पूरा नभए सरकार ढालिदिने चेतावनी दिएका छन् ।
पूर्वमन्त्रीसमेत रहेका नेकपा प्रदेशसभा सदस्य लक्ष्मणकिशोर चौधरीले यस्तो चेतावनी दिएका हुन् । ‘अहिले प्रदेशमा लाल सरकार छ,’ टीकापुर विद्रोह दिवसमा बोल्दै नागरिक उन्मुक्ति पृष्ठभूमिका नेकपा सांसद चौधरीले भने, ‘हामी प्रदेशमा सात जना छौँ । हाम्रै सहयोगमा प्रदेशमा लाल सरकार बनेको छ । थारु बहुल क्षेत्रमा पर्याप्त विकास बजेट नदिए लाल सरकार ढाल्न पनि सक्छौँ ।’
प्रदेश सरकारले थारु बहुल क्षेत्रमा विकास र सर्वसाधारणको जीविकोपार्जनका लागि पर्याप्त बजेट विनियोजन गर्नुपर्ने प्रदेश सांसद चौधरीले बताए ।




प्रतिक्रिया दिनुहोस्