श्रीमतीको अनुहार तथा शरीरमा तातो तेल खन्याएर घाइते बनाई फरार रहेका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार भीमदत्त नगरपालिका–८ तिलाचौरका ३४ वर्षीय अशोक भट्टलाई पक्राउ गरिएको हो ।
उनले १५ पुस २०८२ मा घरको भान्सामा सेलरोटी पकाइरहेकी श्रीमतीमाथि तातो तेल खन्याएका थिए । प्रहरीका अनुसार तातो तेलले श्रीमतीको अनुहारसहित शरीरका विभिन्न भाग जलेर कुरुप बनेको थियो ।
घटनापछि फरार रहेका भट्टविरुद्ध ‘तेजाब वा अन्य रासायनिक, जैविक वा विषालु पदार्थ प्रयोग गरी कुरुप पार्न नहुने’ कसुरमा मुद्दा दर्ता गरिएको थियो ।
फरार अभियुक्तको खोजतलासका क्रममा प्रहरीले ६ असारमा भीमदत्त नगरपालिका–४ बाट उनलाई पक्राउ गरेको जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सूचना अधिकारी तथा प्रवक्ता प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतले जानकारी दिए ।




प्रतिक्रिया दिनुहोस्