धनगढी — प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको बजेटप्रति कडा असन्तुष्टि जनाउँदै बजेट खारेज गरी नयाँ बजेट ल्याउन माग गरेको छ।
शुक्रबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा नेकपा संसदीय दलका नेता खगराज भट्टले प्रदेश सरकारले ल्याएको बजेट जनअपेक्षा विपरीत, अपारदर्शी र पक्षपातपूर्ण रहेको आरोप लगाए। उनले बजेट निर्माण प्रक्रियादेखि वितरणसम्म गम्भीर त्रुटि देखिएको दाबी गर्दै यसलाई संशोधन गरेर सुधार गर्न नसकिने बताए।
भट्टका अनुसार बजेटले प्रदेशको आवश्यकता र प्राथमिकतालाई सम्बोधन नगरी सीमित समूह तथा बिचौलियाको स्वार्थलाई केन्द्रमा राखेको छ। उनले बजेटमा व्यापक पुनर्विचार होइन, पूर्ण रूपमा खारेज गरेर नयाँ बजेट ल्याउनुपर्ने आवश्यकता औँल्याए।
नेकपाले बजेटमा योजना छनोट, रकम विनियोजन र कार्यान्वयन संरचनामाथि समेत प्रश्न उठाएको छ। विभिन्न मन्त्रालयबाट आएका योजनाहरू मापदण्डविपरीत समावेश गरिएको, एउटै योजना दोहोरिएको तथा मन्त्रालयगत जिम्मेवारीसमेत नमिलाइएको आरोप पार्टीको छ।
भट्टले बजेटको आकार र कागजातमा उल्लेखित रकमबीच फरक देखिएको दाबी गर्दै साना योजनाहरूलाई समेत प्राथमिकता दिइएको बताए। उनले बजेट वितरणमा क्षेत्रगत असन्तुलन रहेको तथा केही निर्वाचन क्षेत्रलाई विशेष प्राथमिकता दिइएको आरोपसमेत लगाए।
पत्रकार सम्मेलनमा नेकपा संसदीय दलका उपनेता प्रकाश रावलले पनि बजेटप्रति असहमति जनाउँदै बजेट प्रस्तुतिकै क्रममा आफ्नो दलले विरोध जनाएको स्मरण गराए। उनले सरकारले पर्याप्त तयारीबिना अपूर्ण बजेट ल्याएको आरोप लगाए।
नेकपाले प्रदेश सभाका अन्य दल र सांसदहरूलाई पनि बजेटको विपक्षमा उभिन आग्रह गर्दै हालको स्वरूपमा बजेट पारित हुन नदिने चेतावनी दिएको छ। पार्टीले आवश्यक परे सदन र सडक दुवैबाट संघर्षका कार्यक्रम अघि बढाउने संकेत समेत दिएको छ।




प्रतिक्रिया दिनुहोस्