काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की समानुपातिक सांसद सृष्टि भट्टराईले सामाजिक सञ्जालमा भाइरल भइरहेको आफ्नो एउटा भिडियोका सम्बन्धमा स्पष्टीकरण दिएकी छन् ।
सांसद भट्टराई गुडिरहेको कारको झ्यालबाट बाहिर निस्किएर रमाइलो गरिरहेको भिडियो सार्वजनिक भएपछि उनले शनिवार सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गरेकी हुन् ।
सांसद भट्टराईले उक्त भिडियो हालको नभई आफू सार्वजनिक जिम्मेवारी र सरकारी नियुक्तिमा आउनुभन्दा धेरै अघिको भएको स्पष्ट पारेकी छन् ।
‘यो भिडियो मेरो हालको सार्वजनिक जिम्मेवारी वा सरकारी नियुक्तिपूर्वको निजी समयसँग सम्बन्धित रहेको कुरा स्पष्ट गर्न चाहन्छु,’ उनले भनेकी छन् । उक्त समयमा आफू सवारीचालक नभई यात्रुको रूपमा रहेको र एक सामान्य निजी क्षणलाई रमाइलोका रूपमा कैद गरिएको उनले बताएकी छन् ।
‘सार्वजनिक पदमा रहँदैमा निजी जीवन सकिँदैन’ नागरिकहरूको चासोलाई सम्मान गर्ने उल्लेख गर्दै उनले सार्वजनिक पद धारण गरेको व्यक्तिले पनि आफ्नो निजी जीवन जिउने अधिकार राख्ने तर्क गरेकी छन् । उनले लेखेकी छन्, ‘सार्वजनिक पदमा रहँदैमा व्यक्तिले आफ्नो निजी जीवनका सामान्य क्षणहरू जिउने अधिकार गुमाउँदैन । म सार्वजनिक पदमा रहे पनि सबैभन्दा पहिले एक नागरिक हुँ र मेरो पनि व्यक्तिगत स्वतन्त्रताको अधिकार छ ।’
भिडियोमा देखिएको गतिविधि ट्राफिक नियम र सडक सुरक्षाको दृष्टिकोणले उपयुक्त नहुन सक्ने कुरालाई उनले स्वीकार गरेकी छन् । उमेर र उत्साहका कारण विगतमा त्यस्तो व्यवहार भएको हुन सक्ने भन्दै उनले यसलाई आलोचना भन्दा पनि सचेतनाको अवसरका रूपमा लिन आग्रह गरेकी छन् । ‘विगतका यस्ता अनुभवहरूबाट सिक्दै भविष्यमा म स्वयंले पनि यस्ता गतिविधि दोहोर्याउने छैन,’ उनले प्रतिबद्धता जनाएकी छन् ।
सांसद भट्टराईले एउटा छोटो र पुरानो भिडियोका आधारमा कसैको चरित्र र जिम्मेवारीबोधको मूल्याङ्कन नगर्न आग्रह गरेकी छन् । व्यक्तिको कार्यसम्पादन, व्यवहार र समग्र योगदानलाई हेर्नु उपयुक्त हुने उनको भनाइ छ ।
आफू आफ्नो जिम्मेवारीप्रति पूर्ण प्रतिबद्ध रहेको र जनताको विश्वासलाई सम्मान गर्दै इमान्दारिताका साथ काम गरिरहने उनले बताएकी छन् । रास्वपाभित्र युवा र प्रभावशाली सांसदका रूपमा चिनिने भट्टराईले आफ्नो बचाउ गर्दै शुभेच्छुकहरूलाई धन्यवाद समेत दिएकी छन् ।




प्रतिक्रिया दिनुहोस्