परराष्ट्रमन्त्री शिशिर खनाल यही आइतबार चीनको औपचारिक भ्रमणमा जाने भएका छन् । चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा मन्त्री खनाल चारदिने भ्रमणका लागि चीन जान लागेका हुन् ।
परराष्ट्र मन्त्रालयका अनुसार भ्रमणका क्रममा मन्त्री खनालले बेइजिङमा आफ्ना चिनियाँ समकक्षी यीसँग द्विपक्षीय वार्ता गर्ने कार्यक्रम रहेको छ । वार्तामा नेपाल–चीन सम्बन्धलाई थप सुदृढ बनाउने तथा विभिन्न क्षेत्रमा आपसी सहकार्य विस्तार गर्ने विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
भ्रमणका क्रममा मन्त्री खनालले चीनका उच्चस्तरीय सरकारी पदाधिकारीहरूसँग पनि भेटवार्ता गर्नेछन् । त्यसैगरी, बेइजिङस्थित नेपाली राजदूतावासले आयोजना गर्ने लगानी सम्मेलनमा सहभागी भई उनले नेपालमा विदेशी लगानी आकर्षित गर्ने विषयमा चिनियाँ व्यवसायिक समुदायसँग अन्तरक्रिया गर्ने कार्यक्रम रहेको छ ।
मन्त्री खनालले चीनमा रहेका नेपाली समुदायसँग पनि भेटघाट तथा अन्तरक्रिया गर्नेछन् । परराष्ट्र मन्त्रालयले मन्त्री खनाल १७ जुनमा काठमाडौं फर्कने जनाएको छ ।




प्रतिक्रिया दिनुहोस्