अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राज्य र निजीक्षेत्र मिलेर मात्र अर्थतन्त्रको वास्तविक विकास गर्न सकिन्छ भन्ने स्पिरिटमा बजेट आएको दाबी गरेका छन् । बजेटले निजीक्षेत्रलाई प्राथमिकता दिएको स्वीकार्दै अर्थमन्त्री वाग्लेले उत्पादन, रोजगारी र निजीक्षेत्र मैत्री नीति लिएको बताए ।
प्रतिनिधिसभामा जारी बजेटको राजस्व र व्ययमाथिको छलफलमा उठेका प्रश्न, जिज्ञासाको जवाफ दिँदै अर्थमन्त्री वाग्लेले भने, ‘नेपालको अर्थतन्त्र केही वर्षयता कमजोर अवस्थामा छ । यसलाई उत्थान गर्न अहिलेको आवश्यकता हो । मागलाई पुनरुत्थान गर्नु, निजीक्षेत्रको क्रय शक्ति बढाउन आवश्यक छ । यसलाई सुधार गर्न निजीक्षेत्रको आत्मबल बढाउन आवश्यक छ । बजेटले यसको सम्बोधन गर्ने प्रयास गरेको छ ।’
अहिलेको समस्याको वास्तविक सुधार गर्न सकिए, आर्थिक गतिशिलता बढ्छ भन्ने लागेर नै सरकारले निजीक्षेत्रलाई प्राथमिकता दिएको उनले दाबी गरे ।
‘हामीले दोहोर व्यवहार त्यागेकै हो । सामाजिक न्याय र समतामुलक विकासमा लागेका छौँ,’ वाग्लेले भने, ‘राज्यले सबै काम आफैँले गर्ने र निजीक्षेत्रलाई संकाको दृष्टिकोणले हेर्ने पुरानो सोचबाट हामी बाहिर निस्किएकै हो । त्यस्तै बजारले सबै समाधान गर्छ भन्ने अतिवादी सोचबाट पनि हामी टाढा छौँ ।’
सरकारको दृष्टिकोण सक्षम राज्य र गतिशील निजीक्षेत्रबीचको सहकार्यमा आधारित रहेको पनि उनले बताए ।




प्रतिक्रिया दिनुहोस्