काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानबहादुर (ज्ञानेन्द्र) शाहीले गरिब नागरिकलाई सेवा दिनेभन्दा पनि ठूलो व्यापारीलाई पोस्ने गरी सरकारले बजेट ल्याइएको आरोप लगाएका छन् । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रतिनिधिसभामा पेस गरेको बजेटमाथिको छलफलमा भाग लिँदै बिहीबार (जेठ २८) उनले यस्तो टिप्पणी गरेका हुन् ।
नेता शाहीले नेपालको पुँजी समेत बाहिर लैजाने गरी बजेट ल्याइएको बताए । यस्तो बजेट ल्याउनेलाई विज्ञ भन्न नसकिने भन्दै उनले असन्तुष्टि व्यक्त गरे ।
उनले सरकारले बिरामीको उपचार खर्चमा समेत कर लगाउने नीति राखेको भन्दै आक्रोश व्यक्त गरे । रोगसँग लडिरहेका नागरिकलाई पनि कर लगाउने सरकारको नीति निर्दयी भएको नेता शाहीको भनाइ थियो ।
ज्ञानेन्द्र शाहीको टिप्पणी पढ्नोस्–
यो बजेटले अव बिरामीहरूलाई समेत कर लगाउने बाटो खोलेको छ । उपचारको खर्चमा कर लगाउनु भनेको निजी अस्पतालमाथि कर लगाउनु होइन । अन्ततः त्यो कर उपचार गराउन गएका बिरामीले तिर्नुपर्ने हुन्छ । रोगसँग लडिरहेको नागरिकबाट समेत कर उठाउने सरकार । यो कति निर्दयी हुनसक्छ, सभामुख महोदय । त्यस्तै, नेपालमा नै उत्पादन हुने औषधिलाई प्रोत्साहन दिनुको सट्टा आयातित औषधिलाई सहज हुने व्यवस्था गरिएको छ । यसको प्रत्यक्ष असर नेपालको औषधि उद्योगमा पर्नेछ । आज २० देखि २५ हजार युवाले रोजगारी पाएका उद्योगहरू संकटमा पर्ने अवस्था सिर्जना भएको छ । झन्डै ५० भन्दा बढी ठूला औषधि उद्योगहरू बन्द हुने जोखिममा पुगेका छन् । स्वदेशी उद्योगलाई संरक्षण गर्नुको सट्टा कमजोर बनाउने नीति राष्ट्रहित अनुकूल हुन सक्दैन । अर्थमन्त्रीजीले विदेशमा लगानी गर्ने वातावरण बनाउने कुरालाई सहज बनाउने कुरा गर्नुभएको छ, तर प्रश्न उठछ– नेपालबाट पुँजी बाहिर लैजाने वातावरण बनाउने कि विदेशमा नेपालीलाई नेपालभित्र लगानी गर्न प्रोत्साहन गर्ने ? हामीलाई आवश्यक के हो भन्ने यति पनि ज्ञान अर्थमन्त्रीलाई हुँदैन भने हामीले कसरी विज्ञ भन्न सक्छौँ ?




प्रतिक्रिया दिनुहोस्