एमालेले मानव अधिकार आयोगको प्रतिवेदनमा आवश्यक परे कानुनी उपचार खोज्ने


काठमाडौं । नेकपा (एमाले) ले मानव अधिकार आयोगको प्रतिवेदनमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसहितलाई भूतप्रभावी कानुन निर्माण गरी कारबाही गर्न सिफारिस गरिनु संविधान र स्थापित कानुनी सिद्धान्तविपरीत भएको ठहर गरेको छ ।

महासचिव शंकर पोखरेलले शुक्रबार जेनजी आन्दोलनबारे आयोगको प्रतिवेदनबारे पार्टीमा भएको छलफलको निष्कर्ष प्रस्तुत गरेका छन् ।

विज्ञप्तिमा भनिएको छ, “भूतप्रभावी कानुन निर्माण गरी विगतका घटनामा कारबाही गर्ने उद्देश्यबाट प्रेरित देखिएको छ, जुन संविधान र स्थापित कानुनी सिद्धान्तविपरीत हुन्छ ।”

प्रतिवेदनमा तत्कालीन सरकारका नेतृत्वकर्ता तथा सम्बन्धित पदाधिकारीहरूमाथि कारबाही गर्ने स्पस्ट मनसाय देखिएको भन्दै त्यसको कानुनी वैधतामाथि प्रश्न उठेको उल्लेख छ ।

“प्रतिवेदनमा तत्कालीन सरकारका नेतृत्वकर्ता तथा सम्बन्धित पदाधिकारीहरूमाथि अदृष्य शक्तिको निर्देशनअनुसार कारबाही गर्ने कुत्सित मनसाय देखिएकोले त्यसको कानुनी वैधतामाथि प्रश्न उठेको छ,” विज्ञप्तिमा भनिएको छ ।

प्रतिवेदन पूर्ण रूपमा कानुनी वस्तुनिष्ठतामा आधारित नभई राजनीतिक पूर्वाग्रह वा राजनीतिक परिणाममुखी सोचबाट प्रभावित भएको ठम्याइ एमालेको छ ।

“प्रतिवेदनको समग्र संरचना, भाषा, निष्कर्ष र सिफारिसहरू हेर्दा अत्यन्तै नियोजित ढंगबाट तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन गृहमन्त्री रमेश लेखक तथा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङलाई राजनीतिक रूपमा निषेध गर्नेगरी दोषारोपण गर्ने उद्देश्यबाट प्रेरित भएको प्रष्टै देखिन्छ,”  भनिएको छ ।

आवश्यक परे मर्का परेको पक्षको तर्फबाट आयोगसमक्ष औपचारिक आपत्ति वा पुनरवलोकन को माग गर्ने निष्कर्षमा एमाले पुगेको छ ।

संवैधानिक प्रश्न उठेमा न्यायिक पुनरावलोकनका लागि अदालत जाने तयारी गर्ने र आवश्यक परे उपलब्ध कानुनी उपचारका सबै विकल्पहरू प्रयोग गर्ने एमालेले जनाएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार