काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिबद्ध भएर लागि परेको बताएका छन् ।
बिहीबार ललितपुरमा आयोजित विकास बहस सम्बन्धी कार्यक्रममा बोल्दै उनले उक्त दाबी गरेका हुन् ।
मन्त्री खनालले नागरिकहरूमा परिवर्तनप्रतिको आकांक्षालाई सम्बोधन गर्न सम्बन्धित सबै पक्षले मिलेर काम गर्नुपर्ने पनि बताए । उनले मुलुकलाई समृद्ध बनाउने साझा लक्ष्यमा पुग्नका लागि मूर्त र दिगो विकास साझेदारीका प्रयासहरूलाई अघि बढाउन आवश्यक रहेको बताए ।
उनले अन्तर्राष्ट्रिय विकास साझेदारहरूको संलग्नतामार्फत नेपालको राष्ट्रिय हितलाई अगाडि बढाइने पनि बताए । विकास साझेदारहरूसँग साझेदारीलाई सुदृढ पार्नु, अन्तर्राष्ट्रिय सहयोग परिचालन गर्नु र क्षेत्रीय तथा बहुपक्षीय मञ्चहरूमा नेपालको आवाज र प्राथमिकताहरूलाई प्रभावकारी रूपमा प्रतिनिधित्व गर्ने सुनिश्चित गर्ने काममा सरकार लागि परेको मन्त्री खनालको भनाई थियो ।
उनले भने ‘हाम्रा नागरिकका अपेक्षाहरू फेरिएका छन्, ती आकांक्षा पूरा गर्न परम्परागत शैलीभन्दा बाहिर निस्केर काम गर्नु आवश्यक छ । सरकार एआईएनसँग नयाँ ऊर्जाका साथ सहकार्य गर्दै समृद्धिको साझा लक्ष्य प्राप्त गर्न तयार छ ।’
मन्त्री खनालले स्थानीय सरकारलाई बलियो बनाएर मात्रै सामाजिक संघ, संस्थाहरूको कामलाई प्रभावकारी बनाउन सकिने पनि स्पष्ट पारे । उनले मुलुकको दिगो शान्ति, विकास र समृद्धिलाई अगाडि बढाउने राष्ट्रिय प्रयासहरूलाई सार्थक बनाउने गरी विकास साझेदार संस्थाहरूले काम गर्नुपर्ने बताए ।





प्रतिक्रिया दिनुहोस्