काठमाडौँ — सभामुख डोलप्रसाद अर्यालले जातीय भेदभाव तथा छुवाछूत उन्मूलनका लागि संघीय संसद् पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएका छन् ।
जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको अवसरमा बिहीबार ललितपुरमा राष्ट्रिय दलित आयोगद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख अर्यालले दलित समुदायले लामो समयदेखि भोग्दै आएका समस्या, पीडा र चुनौतीप्रति संसद् सचेत रहेको बताएका हुन् ।
दलित समुदायको सम्मान, सुरक्षा, समान अवसर र न्याय सुनिश्चित नगरेसम्म नेपाली समाज साँचो अर्थमा न्यायपूर्ण र समतामूलक हुन नसक्ने उनको भनाइ छ ।
‘जातीय विभेद र छुवाछूतको अन्त्य केवल सरकार, आयोग वा कुनै एक निकायको जिम्मेवारी मात्र होइन। यो राज्य, राजनीतिक दल, नागरिक समाज, सञ्चार क्षेत्र, शैक्षिक संस्था तथा सम्पूर्ण नेपाली समाजको साझा दायित्व हो । त्यसैले समाजका हरेक तह र वर्ग मिलेर नै यो विकृतिविरुद्धको अभियानलाई सफल बनाउन सकिन्छ। एकता नै हाम्रो शक्ति हो,’ सभामुख अर्यालले भने ।
राष्ट्रिय कानुन र अन्तर्राष्ट्रिय प्रतिबद्धताबीच सामञ्जस्य कायम गर्दै दलित समुदायको अधिकार संरक्षण र प्रवर्द्धनमा थप सक्रिय भूमिका निर्वाह गर्ने पनि सभामुख अर्यालको प्रतिबद्धता छ ।





प्रतिक्रिया दिनुहोस्