धनगढी – सुदूरपश्चिम प्रदेश सरकारले सुदूरपश्चिम प्रज्ञा-प्रतिष्ठानमा गरेको पदाधिकारी नियुक्तिलाई लिएर कला र साहित्य क्षेत्रमा तीव्र आक्रोश पैदा भएको छ। प्रदेश सरकारले स्थानीय स्रष्टाहरूको योगदान र भावनामाथि निर्मम प्रहार गरेको भन्दै नवनियुक्त प्राज्ञ सभा सदस्य एवं विशिष्ट गायक, गीतकार तथा संगीतकार रामप्रसाद अवस्थीले आफ्नो पद अस्वीकार गरेका छन् ।
साँस्कृतिक समाज नेपालका अध्यक्ष समेत रहेका अवस्थीले प्रदेश सरकारको यो निर्णयलाई सुदूरपश्चिमको भाषा, साहित्य र संस्कृतिको इतिहासमा ‘कालो दिन’ को संज्ञा दिएका छन्।
बाहिरी जिल्लाका व्यक्तिलाई प्राथमिकता, स्थानीय स्रष्टाको घोर अपमान
नियुक्ति अस्वीकार गर्दै संगीतकार अवस्थीले सुदूरपश्चिमका सयौँ रैथाने भाषा, साहित्य, कला र संस्कृतिका साधकहरूलाई पाखा लगाएर प्रदेश सरकारले प्रतिष्ठानको नेतृत्वमा बाहिरी जिल्लाका व्यक्तिहरूलाई जबरजस्ती थोपरेको आरोप लगाएका छन्। कुलपति र उपकुलपति नियुक्तिको प्रक्रियाले सुदूरपश्चिमका सम्पूर्ण स्रष्टा समुदायको आत्मसम्मानमा गम्भीर चोट पुर्याएको उनले बताएका छन्।
प्रदेश सरकारको गैरजिम्मेवारपूर्ण कदमप्रति आक्रोश पोख्दै अवस्थीले यो नियुक्ति प्रक्रियामा योग्यता, योगदान वा क्षेत्रीय भावनाभन्दा पनि राजनीतिक भागबन्डा र अन्य स्वार्थले प्रश्रय पाएको दाबी गरेका छन्। सुदूरपश्चिमकै स्रष्टाहरू आफ्नै भूमिमा उपेक्षित हुनु अत्यन्तै दुःखद र चिन्ताजनक विषय भएको उनले उल्लेख गरेका छन्।
प्रतिष्ठानको मूल उद्देश्य नै धरापमा
भाषा, साहित्य र संस्कृतिको उन्नयनका लागि स्थापना गरिएको गरिमामय संस्थामा सुदूरपश्चिमकै स्रष्टाहरूलाई पाखा पारिएकोमा अवस्थीले सरकारको कडा आलोचना गरेका छन्। सुदूरपश्चिमको पहिचान मेटाउने गरी गरिएका यस्ता गलत निर्णयहरूले प्रतिष्ठानको उद्देश्यलाई नै पूर्ण रूपमा कमजोर बनाएको उनले स्पष्ट पारेका छन् ।
प्राज्ञिक क्षेत्रमा भएको यो राजनीतिक हस्तक्षेपले प्रदेश सरकार स्थानीय स्रष्टा र संस्कृतिको संरक्षणमा कति उदासीन छ भन्ने कुरा उदाङ्ग पारेको छ। कला क्षेत्रबाटै सशक्त विद्रोह सुरु भएपछि अहिले सुदूरपश्चिम प्रदेश सरकार चौतर्फी दबाबमा परेको छ।





प्रतिक्रिया दिनुहोस्