काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र साहले आइतबार प्रतिनिधि सभामा राखेको ‘नेपालले पनि भारतको भूमि मिचेको छ’ भन्ने अभिव्यक्तिलाई लिएर राष्ट्रिय सभा बैठकमा प्रतिपक्ष दलहरूले तीव्र विरोध जनाएका छन्।
सोमबारको बैठकमा प्रतिपक्ष दलहरूले आफ्नो स्थानबाट उभिएर प्रधानमन्त्री साहको भनाइप्रति कडा आपत्ति जनाउँदै विरोध प्रदर्शन गरेका हुन्। राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले सदनको कारबाही सुचारु गर्न खोज्दा प्रतिपक्ष दलहरूले उभिएर अवरोध सिर्जना गरे। प्रतिपक्षी सांसदहरूले प्रधानमन्त्रीको उक्त भनाइ संसद्को रेकर्डबाट नहटेसम्म सदनको अवरोध जारी राख्ने चेतावनी दिएका छन्।
आइतबारको प्रतिनिधि सभा बैठकमा सांसदहरूसँगको प्रश्नोत्तर कार्यक्रममा प्रधानमन्त्री साहले भारतले मात्रै नेपालको भूमि मिचेको नभई नेपालले पनि भारतीय भूमि मिचेको र यसलाई वार्ताद्वारा समाधान गर्ने अभिव्यक्ति दिएका थिए। प्रधानमन्त्रीको यस्तो भनाइ सार्वजनिक भएलगत्तै विपक्षी दलहरूका साथै बुद्धिजीवीहरूले यो अभिव्यक्ति राष्ट्रघाती भएको टिप्पणी गर्दै आएका छन्। प्रतिपक्षको निरन्तरको विरोध र नाराबाजीका कारण राष्ट्रिय सभाको बैठक अहिले पूर्ण रूपमा अवरुद्ध बनेको छ।





प्रतिक्रिया दिनुहोस्