काठमाडौँ ।
पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री बालेन शाहलाई पदमा बहाल रहुन्जेल नीतिशास्त्रको ख्याल गर्न मित्रवत् सुझाव दिएका छन्। सामाजिक सञ्जालमार्फत एक सन्देश जारी गर्दै भट्टराईले देश र जनताले धेरै आशा गरेका ‘युवा प्रधानमन्त्री’ शाहलाई संयमित र प्रिय बोलीका साथ अघि बढ्न आग्रह गरेका हुन्।
प्रधानमन्त्री बालेन संसदमा उपस्थित भएर सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिएको कार्यलाई ‘राम्रो’ भन्दै भट्टराईले प्रशंसा गरेका छन्। उनले बालेनको यो सक्रियतालाई सकारात्मक रूपमा लिँदै आगामी दिनका लागि एउटा महत्वपूर्ण मार्गदर्शन समेत दिएका छन्।
डा. भट्टराईले प्रधानमन्त्रीलाई पदमा रहुन्जेल नीतिशास्त्रको एउटा प्रसिद्ध पद्यांश निरन्तर स्मरण गर्न सल्लाह दिएका छन्। उनले संस्कृतको श्लोक उद्धृत गर्दै लेखेका छन्, “सत्यं ब्रुयात् प्रियं ब्रुयात्, न ब्रुयात् सत्यमप्रियं !” अर्थात् “सत्य बोल्नु, प्रिय बोल्नु, तर कसैलाई अप्रिय लाग्ने (चित्त दुख्ने) सत्य नबोल्नु।”
राजनीति र राज्य सञ्चालनमा बोलीको गरिमा र शब्द चयन महत्वपूर्ण हुने संकेत गर्दै पूर्वप्रधानमन्त्री भट्टराईले युवा प्रधानमन्त्रीलाई सन्तुलित र मर्यादित अभिव्यक्ति मार्फत सरकार सञ्चालन गर्न यो सुझाव दिएका हुन्।





प्रतिक्रिया दिनुहोस्