सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूलाई संसदीय दलका पदाधिकारीहरूको पदपूर्ति गर्न सुझाएका छन् ।
सोमबार सिंहदरबारस्थित आफ्नो कक्षामा प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुख सचेतकहरूसँगको छलफलमा सभामुख अर्यालले पहिला संसदीय दलका पदाधिकारीको पदपूर्ति गर्न सुझाएका कांग्रेसकी प्रमुख सचेतक वासना थापाले जानकारी दिइन् ।
‘सभामुखज्यूले प्रमुख सचेतक र सचेतकहरूसँग पहिलो बैठक गर्नुभएको हो । शुभकामना आदानप्रदान र सदन सञ्चालनका विषयमा सल्लाह र समन्वय गर्ने विषयमा कुराकानी भयो । छलफलका क्रममा सभामुखज्यूले संसदीय दलका पदाधिकारीहरूको पदपूर्ति गर्न र सचिवालयमा जानकारी गराउन सुझाउनुभयो,’ उनले शिलापत्रसँग भनिन्, ‘कांग्रेसको संसदीय दलको नेता छनोट ढिला भयो भनेको हामीले सबै सदस्य पूरा गर्दा अन्य दलबाट पूरा हुन बाँकी रहेछ ।’
सभामुख अर्यालले केही दलले पदाधिकारीहरूको विवरण सचिवालयमा उपलब्ध ढिलाइ गरेकाे भन्दै समयमै दिन गराउन आग्रह गरेका थिए ।
बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट सचेतकद्वय क्रान्तिशिखा धिताल र प्रकाशचन्द्र परियार, नेपाली कांग्रेसबाट प्रमुख सचेतक थापा, नेकपा एमालेबाट सचेतक निता घतानी, नेपाली कम्युनिस्ट पार्टीबाट प्रमुख सचेतक युवराज दुलाल र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट प्रमुख सचेतक खुश्बु ओली सहभागी थिए ।




प्रतिक्रिया दिनुहोस्