काठमाडौं । प्रधानमन्त्री बालेन शाहले २५७० औँ बुद्ध जयन्तीको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली एवं बौद्धमार्गीहरूमा शुभकामना व्यक्त गर्दै साँचो क्रान्तिको आधार ‘ज्ञान’ भएको बताएका छन् ।
बुद्ध जयन्तीको अवसरमा सन्देश जारी गर्दै प्रधानमन्त्री शाहले भनेका छन्,’साँचो क्रान्ति ‘क’ बाट होइन ‘ज्ञ’ बाट सुरू हुन्छ, र त्यो ‘ज्ञ’ भनेको ज्ञान हो।’
भगवान् बुद्धले प्रतिपादन गरेको चार आर्य सत्यको स्मरण गरेका छन् । उनले भनेका छन्, ‘बुद्धले भन्नुभयो– दुःख छ, दुःखको कारण छ, दुःखको निवारण छ र दुःख निवारण गर्ने मार्ग छ। बुद्धले देखाउनुभएको बाटो नै वास्तवमा दुःख निवारणको मार्ग हो ।’
प्रधानमन्त्री शाहले ज्ञानको महत्त्व बताउँदै भनेका छन्, ‘उज्यालोको अभाव नै अँध्यारो हो । जतिबेला उज्यालोको किरणले पाइला टेक्छ, अँध्यारो स्वतः बिलाएर जान्छ। हाम्रो यात्रा पनि त्यस्तै ज्ञानको उज्यालोको खोजमा र समस्या निवारणको मार्गमा हुनुपर्छ।’
शान्तिका सर्वकालीन महान् प्रवर्तक बुद्धको जन्मभूमि नेपाल सधैँ अहिंसा र शान्तिको पक्षमा रहेको उल्लेख गर्दै उनले विश्वशान्तिको कामना समेत गरेका छन् ।




प्रतिक्रिया दिनुहोस्