काठमाडौं । रवि लामिछानेविरुद्धको सम्पत्ति शुद्धीकरण र संगठित अपराध कसुर संशोधन गर्ने महान्यायाधिवक्ताको निर्णय रोक्न माग राखेर दायर भएको रिटमाथिको सुनुवाइ स्थगित गरिएको छ ।
लामिछाने विरुद्धको सम्पत्ति शुद्धीकरण र संगठित अपराध कसुर संशोधन गर्ने महान्यायाधिवक्ताको निर्णय रोक्न माग राखेर दायर भएको रिटमाथि बिहीबार (वैशाख १७) सर्वोच्च अदालतमा सुनुवाइको पेशी तय भएको थियो ।
सुनुवाइका लागि न्यायाधीशहरू अब्दुल अजीज मुसलमान, श्रीकान्त पौडेल र शान्तिसिंह थापाको पूर्ण इजलास तोकिएको थियो । ‘‘विपक्षी (रवि) का तर्फबाट आजको सुनुवाइ स्थगित गरिएको छ । अर्को पेसीको तयारी हुँदैछ,’’ रिट निवेदक रहेका वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले बाह्रखरीसँग भने ।
गत चैत १५ गते सर्वोच्चका न्यायाधीशद्वय विनोद शर्मा र अब्दुल अजीज मुसलमान संलग्न संयुक्त पूर्ण इजलासमा पेस गर्न आदेश दिएको थियो । उक्त प्रकरणमा संवैधानिक जटिलताको प्रश्नलगायत आठबुँदामा व्याख्या गर्नुपर्ने टिप्पणीसहित रिटलाई पूर्ण इजलासमा पठाइएको थियो ।
तत्कालीन महान्यायाधिवक्ता सबिता भण्डारी बरालले गत पुस ३० गते रविको हकमा मात्र सहकारी ठगी मुद्दा मात्र कायम राखेर सम्पत्ति शुद्धीकरण र संगठित अपराधको कसुरमा संशोधन निर्णय गर्दै सम्बद्ध जिल्ला सरकारी वकील कार्यालयमा परिपत्र गरेकी थिइन् ।
उक्त निर्णयको चर्को आलोचना भएपछि माघ २ गते पुनः रविसँगै जिबी राई, कुमार रम्तेल, छविलाल जोशी वञ्जाडेसहितका सबै प्रतिवादीको अभियोग संशोधन गर्ने निर्णय भएको थियो । उक्त प्रकरणमा सर्वोच्च अदालतमा तीन वटा रिट दर्ता भएका छन् ।




प्रतिक्रिया दिनुहोस्