काठमाडौं । नेकपा (एमाले) का सचिव महेश बस्नेतले माइतीघर मण्डलामा आफ्नो परिवारमाथि दुर्व्यवहार र प्रहरी धरपकड भएको भन्दै कडा आपत्ति जनाएका छन् । आफ्नो परिवारमाथि भइरहेको साइबर अपराधविरुद्ध उजुरी दिन साइबर ब्युरो जाने क्रममा माइतीघरमा तनावपूर्ण स्थिति सिर्जना भएको उनकाे भनाइ छ ।
घटनापछि प्रहरीले उल्टै आफ्नी श्रीमतीसहित आठ जनालाई गिरफ्तार गरेको भन्दै उनले आक्रोश व्यक्त गरेका छन् ।
सामाजिक सञ्जालमार्फत बस्नेतले भनेका छन्- ‘मेरो र हाम्रो परिवारमाथि गरिएको साइबर अपराधविरुद्ध उजुरी दिन साइबर ब्युरो जाने क्रममा माइतीघर क्षेत्रमा भएको भिडभाड झ्यालबाट हेर्दै गर्दा त्यहाँ उपस्थित केही व्यक्तिहरू केटा मान्छेले समेत मेरो श्रीमती सहित केही महिलालाई गालीगलौज गर्नुका साथै हातपात समेत गरेका छन्। उल्टै, मेरो श्रीमतीसहित आठ जनालाई प्रहरीले गिरफ्तार गरेको छ। यस घटनालाई केही सञ्चार माध्यमहरूले गलत ढंगले प्रस्तुत गर्दै भ्रामक प्रचार गरिरहेका छन्, जुन अत्यन्तै दुःखद र आपत्तिजनक छ। माइतीघर मण्डला जस्तो सार्वजनिक स्थललाई मन नपरेका व्यक्तिलाई बदनाम गर्ने र चरित्र हत्या गर्ने थलोका रूपमा प्रयोग गरिनु निन्दनीय हो।’
सार्वजनिक स्थल माइतीघर मण्डलालाई व्यक्तिको चरित्र हत्या गर्ने थलोको रूपमा प्रयोग गरिएको भन्दै उनले यसलाई निन्दनीय कार्य भएकाे बताएका छन् । ‘यस्तो संवेदनशील विषयमा सरकार मौन दर्शक बनेर बस्नु उपयुक्त हुँदैन। पीडित आफैंले न्याय खोज्नुपर्ने अवस्था सिर्जना हुनु, उल्टै उनीहरूमाथि हातपात हुनु र गिरफ्तार गरिनु कुनै पनि लोकतान्त्रिक समाजका लागि राम्रो संकेत होइन। सम्बन्धित निकायले यस विषयमा गम्भीर ध्यान दिई निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्नु आवश्यक छ। अन्यथा, सशक्त प्रतिरोध गरिनेछ।’ उनले भनेका छन् ।




प्रतिक्रिया दिनुहोस्