काठमाडौँ। लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरले सरकारको पछिल्लो कार्यशैलीप्रति गम्भीर आपत्ति जनाउँदै मुलुक फेरि तानाशाहीतर्फ अगाडि बढिरहेको आशङ्का व्यक्त गरेका छन्।
राष्ट्रिय सभाअन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको सोमबारको बैठकमा बोल्दै उनले प्रजातन्त्र अघि समेत स्वतन्त्रताको अनुभूति हुने थलोका रूपमा चिनिएका स्कुल–कलेज, ट्रेड युनियन र अदालतको कम्पाउण्डलाई अहिले प्रतिबन्ध लगाइएकोमा असन्तुष्टि जनाए। जनताको अधिकार खोसिँदा राष्ट्र नै कमजोर हुने तर्क गर्दै उनले इतिहास नष्ट गरेर कुनै पनि पुस्ता अगाडि बढ्न नसक्ने जिकिर गरे।
अध्यक्ष ठाकुरले बजेट विनियोजनको असमानता र मधेशको समस्याप्रति सरकार अनुदार देखिएको आरोप लगाए। जनसङ्ख्या र राजस्वको अनुपातमा केन्द्रले क्षेत्रलाई दिने बजेट निकै थोरै भएको भन्दै उनले चिन्ता व्यक्त गरे। मधेशको समस्या समाधानका लागि काठमाडौँ आउनु पर्दैन भन्ने प्रधानमन्त्रीको आश्वासनका बाबजुद अहिले मधेशमा फेरि आवाज उठ्न थालेको उनले बताए। प्रधानमन्त्री र मन्त्रीहरू भेटघाटमा व्यस्त देखिए पनि जनताको समस्या समाधानमा गम्भीर नभएको उनको आरोप छ।
सरकारले आफूलाई ‘जेन–जी’सरकार भन्दै पुराना पुस्तालाई अपमान गर्न खोजेकोमा पनि उनले प्रश्न उठाए। निजी क्षेत्रका व्यवसायीको घरमा आगो लगाउने, लुट्ने र बिना स्पष्ट कारण गिरफ्तार गर्ने कार्य भइरहेको भन्दै उनले सुरक्षा र न्यायको अवस्थाप्रति प्रश्न गरे। साथै, सांसद विकास कोष (क्षेत्र विकास कार्यक्रम) हटाइएकोप्रति असन्तुष्टि जनाउँदै उनले मिडियाले सांसदको काम विकास गर्ने होइन भने पनि जिल्ला जाँदा जनताले विकासको अपेक्षा गर्ने गरेको बताए। उनले बजेट विनियोजनको तरिकामा सुधार हुनुपर्ने र क्षेत्र विकासको बजेट पुनः सुचारु हुनुपर्ने माग समेत गरे।




प्रतिक्रिया दिनुहोस्