कैलालीको टीकापुरमा सरकारी जग्गामा भएको अतिक्रमण हटाउन थालिएको छ । टीकापुर नगरपालिकाले आजदेखि सरकारी जग्गा अतिक्रमण गरेर बसेको बस्ती तथा संरचना हटाउन डोजर चलाएको हो ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुमन धितालका अनुसार नगर क्षेत्रमा अतिक्रमित भएका जग्गाहरू हटाउने अभियान आजदेखि सुरु गरिएको जानकारी दिए । ‘टीकापुर नगरपालिका– १ स्थित जमरा पुल क्षेत्रबाट बसपार्कसम्म अतिक्रमण गरिएका संरचना हटाइरहेका छौँ,’ उनले भने ।
प्रमुख प्रशासकीय अधिकृत धितालका अनुसार टीकापुरको कयौँ क्षेत्रमा सरकारी जग्गा अतिक्रमण गरी संरचना बनाइएको छ ।
‘सरकारी जग्गा खाली गराउनका लागि अहिले हामी वडावडामा तथ्यांक संकलनको काम पनि गरिरहेका छौँ,’ उनले भने, ‘सँगै अतिक्रमित क्षेत्र खाली गर्ने काम पनि भइरहेको छ ।’ टीकापुरमा रहेका सुकुम्बासी बस्ती खाली गर्नका लागि पनि तथ्यांक संकलनको काम भइरहेको धितालले बताए ।




प्रतिक्रिया दिनुहोस्