नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले संसदीय दल नेता चयनमा अस्वाभाविक ढिलाइ भएको बताएका छन्।
उनले दल नेता छनोट कार्यमा ढिलाइ र अन्योल देखिएको उल्लेख गरेका हुन्।
फागुन २१ गते प्रतिनिधि सभा निर्वाचन भए पनि कांग्रेसले अहिलेसम्म दल नेता चयन गरेको छैन।
‘नेपाली कांग्रेस संसदीय दलकाे नेता छनाेटकाे कार्यमा देखिएकाे अस्वाभाविक ढिलाइ र अन्याेल दलकाे सार्भभाैम अधिकार माथिकाे ठाडाे हस्तक्षेपकाे परिणाम हाे। याे कार्य तत्काल बन्द गरियाेस्,’ उनले सामाजिक सञ्जाल एक्समा लेखेका छन्।
संसदीय दल नेता छनाेट गर्ने कार्य पार्टी केन्द्रीय कार्यसमितिले दलकाे विधान अनुमाेदन गरेपछि संसदीय दलकाे विधानकाे व्यवस्थाबमाेजिम केन्द्रीय कार्यसमितिकाे समन्वय र सहजीकरणमा संसदीय दलका सदस्यहरूले सर्बसम्मत वा प्रतिस्पर्धाकाे माध्यममाबाट सार्वभाैम तरिकाले निर्वाचन गर्ने विषय भएको उनको भनाइ छ।
‘याे दशथरिकाे हुन्डरी मच्चाउने काम र हस्तक्षेप कसैकाे हितमा छैन, संसदीय दलले अबिलम्ब दल नेताकाे चयन सम्पन्न गरेर जनता र दुनियाँकाे नजरमा पार्टीकाे छविमा हुन थालेकाे थप क्षतिलाइ राेकियाेस्। यस विषयमा पार्टी केन्द्रीय नेतृत्वकाे गम्भीर ध्यानाकर्षण होस्,’ उनले भनेका छन्।
कांग्रेसले दल नेता सहमतिमा चयन गर्न समन्वय गर्न उपसभापति विश्वप्रकाश शर्मा नेतृत्वमा एक कार्यदल बनाएको छ। उक्त कार्यदलको सुझावका आधारमा दल नेताका लागि आजको केन्द्रीय कार्यसम्पादन समितिमा सभापति गगन थापाले नाम प्रस्ताव गर्ने तयारी गरेका छन्। त्यसका लागि बिहान ११ बजे सानेपामा कार्यसम्पादन समिति बैठक बस्नेछ।
साथै निर्वाचन समितिका संयोजक तथा सहमहामन्त्री प्रकाश रसाइली स्नेहीका अनुसार सभापति थापाले प्रस्ताव गरेको नाममा दिउँसो १ बजे संसदीय दल बैठकमा सर्वसम्मत नभए निर्वाचन हुनेछ।




प्रतिक्रिया दिनुहोस्