काठमाडौं । सुकुम्वासी बस्ती खाली गराउने सरकारको अभियानविरुद्ध उत्रिएका श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले एक पूर्वसचिवलाई ‘डेढुमुखे’ भन्दै गाली गरेका छन् । सामाजिक सञ्जालमा भाइरल पूर्वसचिव भीम उपाध्यायलाई उनले ‘डेढुमुखे’ भनेका हुन् ।
उपाध्यायले फेसबुकमा एउटा पोस्ट सेयर गर्दै लेखेका थिए, ‘मर्दले यसरी काम गर्छ, नामर्दहरू यसरी रुन्छन् ।’ उनको पोस्टमा पुष्पकमल दाहाल, शेरबहादुर देउवा, केपी ओली र हर्क साम्पाङ रोइरहेको देखाइएको एआई सिर्जित एउटा तस्बिर पनि थियो । तस्बिरमाथि लेखिएको थियो- सुकुम्वासीको नाममा चल्ने राजनीतिको पसल बन्द भएपछि ।

यो पोस्टमा प्रतिक्रिया जनाउँदै साम्पाङले उपाध्यायलाई ढडुमुखे भनेका हुन् । उनले लेखेका छन्, ‘तँलाई के थाहा छ गरिबको पीडा ??? मेलम्चीको घोटाला मुछिएको ढेडुमुखे ।’
यो जवाफमा साम्पाङलाई निकै गाली आएको छ । सांसदको भाषा यस्तो हुन्छ ? भन्दै धेरैले आलोचना गरेका छन् । पूर्वसचिव उपाध्यायले भने जवाफ फर्काइसकेका छैनन् ।
साम्पाङले आफ्नो फेसबुक पेजमा सुकुम्वासी वस्ति हटाउने सरकारको कदमलाई लिएर धारावाहिक स्टाटस लेख्दै विरोध जनाइरहेका छन् । आजै मात्र उनले दर्जनौँ पोस्ट गरिसके ।
एउटा पोस्टमा उनले लेखेका छन्, ‘यो सरकारलाई म त्यो दिन धन्यवाद दिनेछु जुन दिन महाकालीमा सिमाना नदीलाई च्यापेर भारतले आफूखुसी बनाइरहेको बाँध रोकेर देखाउँछ १ त्यो जाबो गरिबको झुपडी भत्काएर बहादुर सम्झनु र सानो बालकसँग लडेर मैले जितेँ भन्नु एउटै हो !’
उनको अर्को पोस्ट छ, ‘अबको ५ वर्ष गरिब, निमुखा, साना व्यवसायी, अव्यवस्थित बसोबासी, सुकुम्वासीहरूले देख्ने भनेको ‘डोजर, पुलिस, लट्ठी, बुट, बन्दुक र जेलखाना’ मात्रै हुन् ! अरू केही छैन भिजन ! मैले चुनाव ताका निक्कै भनेको थें तर बुझेनन् ! अब परि चेत्नेछन् !’
उनले आजै लेखेको एउटा सिरियस नोट चाहिँ यस्तो छ:
चरालाई त आफू बास बस्ने रुखको डाली (गुँड) प्यारो लाग्छ ! माछालाई आफ्नो कुरको माया लाग्छ भने ! ३०सौं वर्ष आफू बसेको घर राज्यले भत्काइदिँदा कुन नेपालीको आँशु खस्दैन होला र ? त्यही आँसुलाई पनि गाली गर्ने एआईको जमानालाई म आधुनिक मान्न सक्दिन ! आधुनिक मानूँ कसरी ? राम्रो गरिस् सरकार म भनूँ कसरी ? घर भनेको मान्छेको सामाजिक प्रतिष्ठा सङ्ग पनि जोडिएको हुन्छ ! चुपचाप घण्टीमा छाप हालेर पछुतो सिवाय अर्थोक जनताले महसुस गर्नेछैनन् ! हेर्दै जाँदा हुन्छ ! मेरो कुरा शुरुमा तीतो र टर्रो नै लाग्ने गर्छ ! केही समय पर्खनु ! यो सरकार विकास योजनामा उदासीन छ ! मैले धेरै चोटि भेटेर कुरा सुनाउँदा त्यो महसुस गरेको छु ! ५ वर्षमा गर्ने भनेको त्यही मात्रै हो… सुकुम\बासीलाई बेघर बनाउने र गरिब निमुखाको रोजीरोटी खोस्ने काम मात्रै गर्ने हो ! जानेको र सकेको भनेको त्यति मात्रै हो ! महाकालीमा सिमाना मिचिएको छ ! लिपुलेक लिम्पियाधुरामा गुमेको नेपाली भूमि फर्काउनु त सोच्न सम्म पनि सक्दैन !सक्ने भनेको गरिब सुकुम्वासीको बस्तीमा आतङ्क फैलाउनु मात्रै हो ! बस… ! अब देशै भरि सुकुम्वासी बस्तीहरू एक पछि अर्को गर्दै उठाउनतिर लाग्नेछ ! बनाउन र निर्माण गर्न मान्दैन ! भएकालाई भत्काउने र विस्थापन गर्ने मात्रै हो ! सायद यो जनमत जनतालाई विस्थापित गर्न कै लागि मात्रै थिएछ ! हाम्ले अर्कै सोच्यौँ सायद ! चुपचाप घण्टीमा छाप ! चुपचाप सामान बोकेर टाप ! धन्यवाद !’




प्रतिक्रिया दिनुहोस्