नेकपाको संयोजन समितिको बैठक भोलि, के–के हुँदै छ निर्णय ?

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) केन्द्रीय संयोजन समितिको बैठक सोमबार बस्ने भएको छ । 

केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो १ बजे बस्ने बैठकमा संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सह–संयोजक माधव कुमार नेपालले तयार पारेको निर्णय प्रस्ताव पेस गर्ने नेता प्रकाश ज्वालाले जानकारी दिए । 

ज्वालाका अनुसार बैठकले नेताहरूको कार्य विभाजन, विभागीय जिम्मेवारी, सचिवालय र केन्द्रीय कार्य समितिलाई पूर्णता दिने गरी प्रस्ताव आउन सक्नेछ । 

चुनावी समीक्षा र पार्टीको भावी योजनाबारे निर्णय लिन चैत १९ गते संयोजन समितिको बैठक बोलाइएको थियो । चैत २३ देखि २८ गतेसम्म संयोजक प्रचण्डले पेस गरेको चुनावी समीक्षा प्रतिवेदनमाथि नेताहरू लिखित र अलिखित धारणा राखेका थिए । 

वैशाख ३ गते बसेको बैठकमा बैठकमा उठेका प्रश्नको जवाफ संयोजक र सह–संयोजकले दिएका थिए । निर्णय प्रस्ताव ल्याउने जिम्मा प्रचण्ड र माधवलाई दिएपछि बैठक स्थगित भएको थियो । पार्टी नेतृत्वले ल्याएको प्रस्तावमाथि निर्णय प्रस्ताव अनुमोदन गरेपछि बैठक सकिने नेता ज्वालाले जानकारी दिए ।

‘केन्द्रका समितिहरूको पूर्णता, नेताहरूको कार्य विभाजन, विभागीय जिम्मेवारी, समायोजन लगायत विषयमा सहमति गर्ने जिम्मा संयोजक र सह–संयोजकलाई दिने निर्णय भएअनुसार उहाँहरूले निर्णय प्रस्ताव ल्याउनुहुन्छ । निर्णय प्रस्तावमाथि छलफल पश्चात् भोलि नै बैठक सकिने छ’, रातोपाटीसँग ज्वालाले भने ।

उनका अनुसार प्रदेश इन्चार्ज÷सह–इन्चार्ज, संयोजक/सह–संयोजकको जिम्मेवारी वरिष्ठ नेताहरूबाट नै तोकिने छ । जिम्मेवारी तोक्दा साबिक पार्टीमा पाएको जिम्मेवारीलाई अल्टर हुने गरी मापदण्ड बनाइने छ । जस्तै: माओवादी केन्द्रले इन्चार्ज पाएमा एकीकृत समाजवादीले सह–इन्चार्ज, एकीकृत समाजवादीले इन्चार्ज पाएको प्रदेशमा माओवादी केन्द्रले सह–इन्चार्ज पाउनेछन् । यही मापदण्ड अनुसार प्रदेशको संयोजक र सह–संयोजक तोकिनेछ ।

भूगोलमा कार्य विभाजन तोकेको जस्तै विभागीय जिम्मेवारी तोकिने ज्वालाले बताए । एकता अगाडि माओवादी केन्द्र र एकीकृत समाजवादीमा ३२ वटा विभाग रहेको थियो । एकतापछि विभाग प्रमुख र उपप्रमुखको जिम्मेवारी तोकिनेछ ।

यसैगरी बैठकको एजेन्डामा चुनावी समीक्षा प्रतिवेदन अनुमोदन रहेको छ । प्रचण्डले बैठकमा १० पृष्ठको समीक्षा प्रतिवेदन पेस गरेका थिए । प्रतिवेदनमाथि नेताहरूले दिएको सुझावको आधारमा प्रतिवेदन पुनर्लेखन हुने ज्वालाले जानकारी दिए । यसबारे वैशाख ३ गते नै निर्णय भइसकेको उनले जिकिर गरे ।

‘नेताहरूको सुझावका आधारमा प्रतिवेदन पुनर्लेखन गर्ने निर्णय भइसकेको छ । यसमा छलफल आवश्यक छैन’, उनले भने ।

पालिका, जिल्लाको एकता र समायोजनको जिम्मेवारी सम्बन्धित प्रदेशलाई नै दिने तयारी छ । विधान बमोजिम १२५ जनाको केन्द्रीय सचिवालय, ६०१ सदस्यीय केन्द्रीय कार्य समितिलाई पूर्णता दिने गरी प्रस्ताव आउन सक्ने ज्वालाले बताए ।

यसैगरी जवस/मोर्चाको एकता र समायोजन र महाधिवेशनको मिति बैठकले तोक्न सक्ने उनले जानकारी दिए ।

‘महत्त्वपूर्ण कुरा एकता महाधिवेशन ६ महिनामा गर्ने भनेर संयोजक÷सह–संयोजकले भनिसक्नु भएको छ । त्यसका लागि वडा तहदेखि नै अधिवेशन गर्नुपर्ने हुन्छ । अर्को महत्त्वपूर्ण कुरा सदस्यहरूको एकता र नवीकरण आवश्यक पर्छ । सदस्यताको विषयमा मापदण्ड र महाधिवेशनको मिति तय यही बैठकले गर्नेछ’, ज्वालाले भने । 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार