राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले फागुन २१ गते भएको प्रतिनिधि सभा निर्वाचनमा राप्रपाले गणित गुमाएको तर राजनीति नहारेको बताएका छन्।
पार्टीको केन्द्रीय सचिवालयले आयोजना गरेको प्रदेशस्तरीय निर्वाचन समीक्षामअन्तर्गत शनिवार तनहुँमा आयोजित गण्डकी प्रदेशस्तरीय कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले पार्टीले तुलनात्मक रुपमा केही सिट गुमाए पनि आफ्नो एजेण्डाको आवश्यकता देशले महशुस गरिरहेको बताए।
‘हालैको निर्वाचनमा रास्वपाको क्रमिक सुधार भन्दा पनि चमत्कारिक परिणाम आयो, अर्कोपटक यो भन्दा राम्रो पोजिसन दिनुपर्छ भन्ने ठाऊँ नै नराखी परिणाम दियो, सगरमाथाको चुचुरोमा पुगेपछि त्यहाँ बसिरहन पनि सम्भव छैन, त्यहाँभन्दा माथि जाने ठाउँ पनि छैन, झर्नैपर्छ,’ उनले भने।
राप्रपा देशको भरपर्दो विकल्प बनेर खडा हुन सक्नुपर्ने उनले बताए।
‘हामी बाहेक जनताको भरोसायोग्य दल अर्को हुनै सक्दैन तर हामी योजनाबद्ध ढंगबाट अघि बढ्नुपर्छ,’ उनले भने।
अध्यक्ष लिङ्देनले राजाको कुनै दल नहुने भन्दै राप्रपा राजाको पार्टी नभएर राजसंस्था मान्नेहरूको पार्टी भएको बताएका छन्।
राप्रपा सम्वर्द्धनवादी दर्शन बोकेको पार्टी भएको उल्लेख गर्दै उनले राजा र राजसंस्था कुनै पार्टीको नहुने र राजसंस्थाको पनि कुनै पार्टी नहुने बताए।
राप्रपालाई राजाको दल भनेर प्रचार गर्ने र विवादित तुल्याउनेहरू राजसंस्थाको पक्षपाती नभएको उनको भनाइ छ।
गत फागुन २१ गते भएको निर्वाचनअघि आएको पूर्वराजाको सम्बोधनलाई लिएर कतिपय राजसंस्थावादीले राप्रपा निर्वाचनमा जानु गल्ती भएको भनेर टिप्पणी गरिरहेका बेला अध्यक्ष लिङ्देनले यस्तो बताएका हुन्।
राप्रपा निर्वाचनमा नगएको भए आजको राजनीतिक परिदृश्य र संसदीय मञ्चबाट राप्रपा र राजसंस्थाको पक्षपाती शक्तिको हालत के हुन्थ्यो भन्दै उनले प्रश्न पनि गरेका थिए।
संसदमा राजसंस्थाको एजेण्डा राप्रपाकै कारणले घन्किरहेको उनले बताए।




प्रतिक्रिया दिनुहोस्