अन्तरजातीय विवाहका कारण हिरासतमा मृत्यु: सांसदहरूको आन्दोलन

सिन्धुलीको खुर्काेटस्थित इलाका प्रहरी कार्यालयको हिरासतमै मृत्यु भएका सुनकोसी गाउँपालिका-३ का २२ वर्षीय श्रीकृष्ण विकको शव ५ दिनदेखि अस्पतालमा छ।

खोटाङको एक बालिकासँग अन्तरजातीय प्रेमविवाह गरेका उनलाई बालिकाको परिवारले जबरजस्ती करणीको मुद्दा दर्ता गराएपछि प्रहरीले पक्राउ गरेको थियो।


काठमाडौँमा पक्रेर सिन्धुली पठाइएका विक यही वैशाख ७ गते साँझ हिरासतकै भेन्टिलेटरमा सर्टको पासो लगाएर आत्माहत्याको प्रयास गरेको भन्दै प्रहरीले तत्कालै अस्पताल पुर्‍याएको थियो। तर त्यही साँझ उनको मृत्यु भयो।

विकले आत्महत्या गरेको दाबी गर्दै प्रहरीले शव लान आग्रह गरे पनि पीडित परिवारले घटना शंकास्पद देखिएको भन्दै सत्यतथ्य छानबिनको माग गरेका छन्।

मृतक श्रीकृष्णकी आमा बिन्दामाया विकले आत्महत्या नभएर प्रहरीले नै कुटेर छोरा मारेको आरोप लगाएकी छन्।

पुरानो सुती कपडाको सर्टले पासो लगाएर झुन्डिँदा कपडाले थेक्न नसक्ने उनको भनाइ छ।

घटना के हो, शवको अवस्था के छ भन्नेसमेत जानकारी नदिइएको गुनासो बिन्दामायाले गरेकी छन्। 

प्रेमविवाह गरेर बसेको मान्छेलाई फसाउन जबरजस्ती करणीको मुद्दा दर्ता गराउनुमा प्रहरीकै मिलेमतो भएको दाबी उनको छ। 

बालविवाहकै मुद्दा दर्ता गरेर कारबाही गरिनुपर्नेमा छोरोलाई जानाजान अर्को मुद्दा चलाइएको गुनासो उनले गरेकी छन्।

यसैबिच प्रहरी हिरासतमै दलित युवकको मृत्यु भएको भन्दै दलित समुदायका सांसदहरू जिल्ला प्रशासन कार्यालय सिन्धुलीको गेटमा धर्नामा बसेका छन्। 

घटनाको सत्यतथ्य सार्वजनिक गरी पीडित परिवारलाई न्याय दिन माग गर्दै खगेन्द्र सुनारलगायत सांसदहरू बिहीबार रातिदेखि धर्नामा बसेका हुन्। साथमा सिन्धुलीबाट निर्वाचित सांसद पनि छन्। 

बिहीबार बिहान प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुखसँगको छलफल गरेका उनीहरूले घटनाको वास्तविकता लुकाउन खोजिएको भन्दै रातिदेखि आन्दोलन थालेका हुन्।

सांसद सुनारसहित रिमा विश्वकर्मा, सुष्मा स्वर्णकार, गणेश विक, खिमा विश्वकर्मा, आशिष गजुरेललगायत सांसद धर्नामा बसेका हुन्। 

उनीहरूले सिन्धुलीका सीडीओ स्किम श्रेष्ठ, एसपी लालध्वज सुवेदी, खुर्कोट इलाका प्रहरी कार्यालयका इन्स्पेक्टरदेखि डिउटी अधिकृतसम्मलाई तत्काल निलम्बन गरी छानबिन गर्न माग गरेका छन्।

सांसद सुनारले फेसबुकमा धर्नाको तस्बिर सार्वजनिक गर्दै लेखेका छन्, ‘प्रहरीको आन्तरिक उच्चस्तरीय (विज्ञ) छानबिन, संसदीय छानबिन समिति गठन, जाहेरवालालाई जातीय हिंसामा कारबाहीलगायत घटनाको सत्यतथ्य छानबिन नहुँदासम्म अहिलेकै मितिबाट मलगायत तपसिलका सांसदहरू जिल्ला प्रशासन कार्यालय सिन्धुलीको गेटमा अनिश्चितकालीन धर्ना सुरु।’

यसअघि पीडित पक्षले निरन्तर दबाबका कार्यक्रम गरिरहेका थिए।

सत्यतथ्य छानबिन गरी न्याय नपाएसम्म शव नबुझ्ने परिवारको अडान छ।

यता जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता सूर्य प्रकाश सुवेदीले भने झुन्डिएको अवस्थामा उद्धार गरी अस्पताल पुर्‍याइएकामा भ्रामक सूचना सम्प्रेषण गरिएको दाबी गरेका छन्।

उनले सिन्धुलीका सहयाक जिल्ला अधिकारी दिपेन्द्र पौडेलको संयोकत्वमा पीडित परिवारका प्रतिनिधि, जिल्लाका दलीय संघसंस्थाका पदाधिकारीलगायत सरोकारवाला निकायको सहभागितामा छानबिन समिति गठन गरिएको जानकारी पनि दिएका छन्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

100%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार