काठमाडौँ- लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरले मधेस र नेपाल-भारत सीमा क्षेत्रमा व्याप्त अशान्ति र सर्वसाधारणमाथि भइरहेको दुव्र्यवहारप्रति चिन्ता व्यक्त गरेका छन् ।
सीमा नाकामा सर्वसाधारणले भोग्नुपरेको सास्ती र राज्यको उदासिनताले गर्दा आफूहरू ‘विद्रोहको नजिक’ पुगेको चेतावनीसमेत उनले दिए । अध्यक्ष ठाकुरले सीमा क्षेत्रका भन्सार र सुरक्षाकर्मीहरूले ‘तजबिजी अधिकार’ (स्वविवेकिय अधिकार) को दुरुपयोग गरी सर्वसाधारणलाई दुःख दिने गरेको बताए ।
कानुन स्पष्ट नहुँदा हाकिमहरूको तजबिजी चल्ने र त्यसले भ्रष्टाचार तथा सास्ती बढाएको उनको आरोप छ । विगतमा काम र खाद्यान्नका लागि मानिसहरू नेपाल आउने गरेको स्मरण गर्दै ठाकुरले अहिले स्थिति उल्टो भएको बताए । सीमा सुरक्षाका नाममा महिलाहरू सबैभन्दा बढी प्रताडित भइरहेको भन्दै उनले आक्रोश व्यक्त गरे ।
उनले भने,’सय रुपैयाँभन्दा बढीको सामान ल्याउँदा पनि ट्याक्सको दायरा भन्दै घण्टौँ कुराउने, अनुहार हेरेर व्यवहार गर्ने र मानिसहरूलाई अपमानित गर्ने काम भइरहेको छ । खाद्यान्न र नुन–तेलका लागि भारतीय बजारको बाध्यता छ । अहिले गरिब जनता आधा किलो चामल, पीठो, नुन र कुकिङ्ग तेलका लागि सीमा पारि जान बाध्य छन् । त्यही एक–दुई किलो सामान ल्याउँदा पनि सीमामा लुटिने र खोसिने डर छ । मन्त्रीज्युहरू मिटिङमा व्यस्त हुनुहुन्छ, हाम्रो कुरा सुन्ने समय उहाँहरूसँग छैन । हामी विद्रोही त होइनौँ, तर राज्यको यस्तै व्यवहार रहिरहने हो भने हामी विद्रोहको निकै नजिक छौँ ।’
नेपाल र भारतबीचको ‘रोटी-बेटी’ को सम्बन्धमा राज्यले कठोर व्यवहार देखाएकोमा उनले आपत्ति जनाए । विवाहका गाडीहरूलाई रोक लगाउने र जन्ती-बरीतलाई पैदल हिँडाउन बाध्य पार्ने कार्यले दुई देशको सांस्कृतिक वातावरण बिगारिरहेको उनको तर्क छ ।
वर्तमान सरकारलाई ‘हेलिकप्टर सरकार’ को संज्ञा दिँदै उहाँले राजधानीमा बस्ने मन्त्रीहरूलाई मधेसको भुइँमान्छेको पीडा थाहै नभएको बताए । अध्यक्ष ठाकुरले मधेसका बुद्धिजीवी र मिडियाले अहिले बिस्तारै आँखा खोल्न थालेको भएपनि सत्ताले मधेसको आवाजलाई अझै बेवास्ता गरिरहेको गुनासो गरे ।




प्रतिक्रिया दिनुहोस्