काठमाडौं । पदभार ग्रहण गरेको भोलिपल्टै पूर्वप्रधानमन्त्री केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गरेर चर्चामा आएका गृहमन्त्री सुधन गुरुङले राजीनामा दिएका छन् । १३ चैत २०८२ मा गृहमन्त्री नियुक्त गुरुङले सेयर खरिद, सम्पत्ति विवरण सार्वजनिकलगायत विवादमा परेपछि छानबिनका लागि सहयोग गर्न भन्दै राजीनामा दिएका हुन् ।
प्रधानमन्त्री बालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसँग बुधबार भेटेपछि गुरुङ राजीनामा दिने निष्कर्षमा पुगेका हुन् । उनले ‘आफूमाथि प्रश्न उठेको र ती प्रश्न’bout पारदर्शी रूपमा छानबिन होस्’ भन्ने उद्देश्यले नैतिकताका आधारमा राजीनामा दिएको बताएका छन् । गृहमन्त्री भएलगत्तै शान्ति सुव्यवस्था कायम राख्न सफल भएको र भ्रष्टाचारविरुद्ध शून्य सहनशील बनेको भन्दै जनस्तरबाट प्रशंसा पाउँदै आएका गुरुङ अन्ततः नियुक्तिको २६ दिनमै राजीनामा दिन बाध्य भएका हुन् ।
यसअघि रास्वपा सभापति लामिछानेले पनि नागरिकता विवादपछि राजीनामा दिएका थिए । शेखर गोल्छालगायत दर्जनभन्दा बढी व्यवसायी र व्यावसायिक कम्पनीका सञ्चालकविरुद्ध सम्पत्ति शुद्धीकरण, धितोपत्र कारोबारमा भएको अपराधलगायत अभियोगमा कारबाही अघि बढाइएलगत्तै गुरुङलाई एकपछि अर्को विवादमा तानिएको थियो । व्यावसायिक घरानाको दबाबमा अर्थमन्त्री स्वर्णिम वाग्लेले सेयर कारोबारकै आधारमा मात्र कुनै व्यापारीमाथि मुद्दा नचलाइने अभिव्यक्ति नै दिएका थिए ।
गुरुङले यसविपरित गैरकानुनी कारोबार गर्ने व्यवसायीमाथि निर्मम बन्ने भन्दै पक्राउ गरी कारबाही थाल्ने तयारी गरेलगत्तै उनीविरुद्ध एकपछि अर्को विवाद उत्पन्न गरिएको गुरुङको दाबी छ । गुरुङले राजीनामा दिएपछि गृहमन्त्रीको कार्यभार प्रधानमन्त्री शाहले नै सम्हालेका छन् । शाहले रक्षा मन्त्रालयसमेतको पदभार सम्हालिरहेका छन् ।
राजीनामा दिएको जानकारी दिँदै गुरुङले सामाजिक सञ्जाल फेसबुकमा ‘गृहमन्त्रीको जिम्मेवारीमा इमानदारीपूर्वक काम गर्दै आएको र पछिल्ला दिन नागरिकस्तरबाट आफ्नो सेयरलगायत विषयमा उठेका प्रश्न, टिप्पणी र जनचासोलाई गम्भीर रूपमा लिएको’ बताएका छन् ।
‘मेरो लागि पदभन्दा ठुलो कुरा नैतिकता हो र जनविश्वासभन्दा ठुलो शक्ति कुनै हुँदैन । आज देशमा सुशासन, पारदर्शिता र जबाफदेहिताको माग गर्दै उठिरहेको जेनजेड आन्दोलनले पनि यही सन्देश दिएको छ,’ उनले भनेका छन्, ‘सार्वजनिक जीवन स्वच्छ हुनुपर्छ, नेतृत्व उत्तरदायी हुनुपर्छ । मेरा ४६ जना भाइबहिनीको रगत र बलिदानीको आडमा बनेको सरकारलाई कसैले प्रश्न गर्छ भने त्यसको जवाफ नैतिकता हो ।
त्यसैले मसँग सम्बन्धित विषयमा निष्पक्ष छानबिन होस् र पदमा रहँदा कन्फ्लिक्ट अफ इन्ट्रेस्ट नदेखियोस् र त्यसमा कुनै असर नपरोस् भन्ने उद्देश्यले मैले आजकै मितिदेखि लागू हुनेगरी गृहमन्त्री पदबाट राजीनामा दिएको छु ।’
पत्रकारका लगानीमा गृहमन्त्रीको प्रश्न
राजीनामा घोषणासँगै गुरुङले पत्रकारका सेयरलगायतमा भएको लगानीको स्रोतमा समेत गम्भीर प्रश्न उठाएका छन् । ‘प्रिय सञ्चारकर्मी मित्रहरू, आमनेपाली दाजुभाइ, दिदीबहिनी र युवाहरू, यदि हामी साँच्चै परिवर्तन चाहन्छौं भने सत्य, इमानदारी र आत्मशुद्धिको बाटोमा सबै उभिनैपर्छ । कति मिडियाकर्मी साथीहरूको कहाँकहाँ स्वेट सेयर छ, बिस्तारै आउला, रामराज्यको चाहना राख्नेहरूले त्याग र नैतिक साहस पनि देखाउन सक्नुपर्छ,’ उनले लेखेका छन् ।
गुरुङको पक्षमा सर्वसाधारण !
गुरुङले राजीनामा दिएको घोषणा गर्दै फेसबुकमा लेखेको ‘स्ट्याटस’मा बुधबार रातिसम्म ३२ हजारभन्दा बढीले प्रतिक्रिया दिएका छन् । अधिकांशले उनले ‘राम्रो काम गरिरहेको’ भन्दै ‘आफूविरुद्धका अभियोगमा स्वतन्त्र अनुसन्धान गर्न दिन र अभियोगको छानबिन भएर सफाइ पाए पुनः गृहमन्त्रीमा फर्कन’ सुझाव दिएका छन् ।
गुरुङले सुरक्षा व्यवस्था मजबुत बनाउन राम्रो काम गरेको, भ्रष्टाचारविरुद्ध शून्य सहनशील नीति लिएको भन्दै सर्वसाधारणले ‘उनीमाथि अन्याय हुन नहुने’ भनेका छन् । प्रतिक्रिया दिने अधिकांशले उनीमाथि लागेको अभियोगमा शीघ्र छानबिन हुनुपर्ने, दोषी देखिए कारबाही र नदेखिए पुनः जिम्मेवारीमा फर्काउनुपर्ने धारणा व्यक्त गरेका छन् ।




प्रतिक्रिया दिनुहोस्