वैशाख १० सम्म ‘तातो लहर’ चल्ने, उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौँ ।  मौसम पूर्वानुमान महाशाखाले आगामी वैशाख १० गते बिहीबारसम्म देशका तराई र पहाडका विभिन्न जिल्लाहरूमा तातो दिन तथा तातो लहर अर्थात् ‘हिट वेभ’ को सम्भावना रहेको भन्दै नागरिकहरूलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ। 

मौसमविद् रोजन लामिछानेका अनुसार विशेषगरी कञ्चनपुर, कैलाली, डोटी, बर्दिया, बाँके, दाङ, कपिलवस्तु, रुपन्देही र पश्चिम नवलपरासीमा मध्यम स्तरको तातो लहर चल्ने सम्भावना देखिएको छ। यसका साथै मधेश प्रदेशका सम्पूर्ण भू-भाग, बाग्मती र गण्डकी प्रदेशका तराई तथा पहाडी क्षेत्रहरू, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी भेगका साथै खोच र उपत्यकाहरूमा समेत तातो दिन हुने अनुमान गरिएको छ भने अन्य क्षेत्रहरूमा पनि तापक्रम क्रमशः बढ्दै जाने देखिएको छ।

तातो हावा र तातो लहरका कारण मानव स्वास्थ्यमा विभिन्न समस्याहरू देखिन सक्ने भएकाले यसप्रति सजग रहन चिकित्सक र मौसमविद्हरूले सुझाव दिएका छन्। यसको प्रभावले शरीरमा थकान लाग्ने, कमजोरी महसुस हुने, अत्यधिक तिर्खा लाग्ने र टाउको दुख्ने जस्ता लक्षणहरू देखिन सक्छन्। त्यस्तै खुट्टा बाउडिने, रिङ्गटा लाग्ने, बेहोस हुने, मांसपेशी दुख्ने तथा वान्ता हुने जस्ता स्वास्थ्य समस्या समेत उत्पन्न हुन सक्ने भएकाले सावधानी अपनाउनु जरुरी देखिएको छ।

गर्मीको यो जोखिमबाट बच्नका लागि नागरिकहरूलाई सम्भव भएसम्म घरभित्र वा शीतल स्थानमा बस्न र चर्को घाम लागेको बेला बाहिर ननिस्कन आग्रह गरिएको छ। यदि बाहिर निस्कनै पर्ने अवस्था आएमा टाउको छोप्ने वा छाताको प्रयोग गर्न, बाहिरी कामहरू बिहान वा साँझको शीतल समयमा मात्र गर्न र शरीरलाई शीतल राख्न हल्का कपडाहरू लगाउन सुझाव दिइएको छ। 

साथै शरीरमा पानीको मात्रा कम हुन नदिन प्रशस्त मात्रामा पानी र फलफूलको रस सेवन गर्न समेत अनुरोध गरिएको छ। यदि स्वास्थ्यमा कुनै पनि प्रकारको समस्या देखिएमा तुरुन्त नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गरी आवश्यक परामर्श लिन महाशाखाले सबैमा जानकारी गराएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार