अत्तरिया, कैलालीको गोदावरी नगरपालिका–१२ मा नयाँ वडा कार्यालय भवन औपचारिक रूपमा सञ्चालनमा आएको छ। सोमबार आयोजित एक कार्यक्रममा नगर प्रमुख वीरेन्द्र भट्टले उक्त भवनको उद्घाटन गरेका हुन्।
उद्घाटन समारोहमा बोल्दै मेयर भट्टले सबै वडामा २०७९ सालमै आफ्नै भवन निर्माण गर्ने लक्ष्य भए पनि विभिन्न कारणले ढिलाइ भएको स्वीकार गरे। विशेषगरी नगरपालिका स्वामित्वमा जग्गा अभाव हुँदा योजना कार्यान्वयनमा समस्या आएको उनले बताए। हाल स्थानीय जग्गादाताहरूको सहयोगपछि भवन निर्माण सम्भव भएको उल्लेख गर्दै उनले नगरको विकासका लागि सामूहिक सहकार्य आवश्यक रहेकोमा जोड दिए।
उनका अनुसार वडा नम्बर ३ मा भवन निर्माण भइरहेको छ भने वडा नम्बर १० र २ मा छिट्टै निर्माण कार्य सुरु गरिने तयारी गरिएको छ। वडा नम्बर ६ मा भने अझै पनि जग्गा सम्बन्धी समस्या समाधान हुन बाँकी रहेको उनले बताए। निर्धारित समयअघि नै निर्माण कार्य सम्पन्न गरेकोमा निर्माण कम्पनीप्रति उनले आभार व्यक्त गरे।
वडाध्यक्ष भीमबहादुर खड्काले नयाँ भवन निर्माणसँगै वडाको सेवा प्रवाह सहज बनेको बताए। उनले सुरुमा निःशुल्क जग्गा उपलब्ध हुन नसक्दा ढिलाइ भएको उल्लेख गर्दै अहिले भने प्रक्रिया सहज रूपमा अघि बढेको बताए। साथै, जग्गा दान गर्ने शेरबहादुर लुहार विक र प्रेमबहादुर बडैला तथा निर्माण कम्पनी उप्रेती बिल्डर्स एण्ड इन्जिनियर्सलाई धन्यवाद दिए।
उक्त भवन निर्माणका लागि उप्रेती बिल्डर्स एण्ड इन्जिनियर्स प्रालिसँग भ्याटसहित ६२ लाख ६५ हजार २८३ रुपैयाँमा सम्झौता गरिएको थियो। असार मसान्तसम्म निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको भए पनि समयअगावै काम सकिएपछि भवन सञ्चालनमा ल्याइएको हो।




प्रतिक्रिया दिनुहोस्