एञ्जिलाको दाबी- नेपाली फुटबलमा खेलभन्दा राजनीति र प्रशासनिक विवाद हाबी

काठमाडौं। राष्ट्रिय महिला फुटबल टीमकी गोलकिपर एञ्जिला तुम्बाप्पो सुब्बाले नेपाली फुटबलमा खेल भन्दा राजनीतिक हस्तक्षेप र प्रशासनिक विवाद बढी हुने आरोप लगाएकी छन्।

सामाजिक सञ्जालमार्फत पूर्व कप्तान समेत रहेकी एञ्जिलाले राष्ट्रिय खेलकुद परिषद् (राखेप) र अखिल नेपाल फुटबल संघ (एन्फा)बीचको आन्तरिक कलहले साफ वुमन्स च्याम्पियनसिप खेल्नबाट बञ्चित भएको स्मरण गराउँदै ‘खेलाडीको नाताले मन साह्रै रुने’ प्रतिक्रिया दिएकी छन्।

यस्ता प्रशासनिक रोक र समयसीमाको उल्लङ्घन केवल कागजका कुरा नभई यसको पछाडि हजारौँ खेलाडीहरूको पसिना, सपना र देशका लागि केही गर्ने वर्षौँको मेहनत लुकेको हुने उनले उल्लेख गरेकी छन्।

उनले लेखेकी छन्– ‘नेपाली फुटबल अहिले एउटा यस्तो दोबाटोमा उभिएको छ, जहाँ खेल भन्दा बढी राजनीति र प्रशासनिक विवाद हावी भइरहेको छ। यो देख्दा एउटा खेलाडीको नाताले मन साह्रै रुन्छ।’

आफूहरु देशको गर्वका लागि खेल्ने, तर प्रशिक्षण क्याम्प, प्राविधिक तयारी र स्पष्ट कार्ययोजना बिना मैदानमा कसरी उत्रिने ? भन्दै उनले प्रश्न समेत गरेकी छन्।

साथै एञ्जिलाले सरकार र एन्फालाई अनुरोध गर्दै प्रशासनिक दाउपेचको रणभूमि नभई खेलकुद जोड्ने माध्यम बन्नुपर्ने बताएकी छन्।

दुवै पक्षलाई तुरुन्तै आपसी सहमति खोज्न आग्रह गर्दै खेलाडीलाई खेल्ने वातावरण बनाउन अनुरोध गरेकी छन् ।

‘हाम्रो मेहनत गोवाको मैदानमा देखिनुपर्छ, बन्द कोठाको विवादमा हराउनु हुँदैन।’ उनले लेखेकी छन्।

‘हाम्रा खेलाडीका सपनाहरूलाई प्रशासनिक पक्षाघातको सिकार नबनाउनुहोस्। हाम्रो भविष्य ‘जोखिम’ मा होइन, तपाईंहरूको ‘प्राथमिकता’मा हुनुपर्छ।’ उनले आग्रह गरेकी छन्।

राखेप र एन्फाबीचको विवादले अप्रिल १२ र १५ मा हुने फिफा सिरिज नेपाली महिला टोलीले गुमाएको थियो।

यस्तै, राष्ट्रिय महिला तथा पुरुष लिग बीचैमा स्थगित भएको छ भने ए डिभिजिन लिग सञ्चालन हुन नसकेको दुई वर्ष १० महिना भइसकेको छ। यस्तै नेपाल र हङकङबीच मार्च २६ मा काठमाडौंमा तय भएको मैत्रीपूर्ण खेलसमेत रद्ध हुन पुगेको थियो।

एञ्जिलाको स्टाटस जस्ताको तस्तैः

नेपाली फुटबल अहिले एउटा यस्तो दोबाटोमा उभिएको छ, जहाँ खेल भन्दा बढी राजनीति र प्रशासनिक विवाद हावी भइरहेको छ। यो देख्दा एउटा खेलाडीको नाताले मन साह्रै रुन्छ। 

राष्ट्रिय खेलकुद परिषद (राखेप) र एन्फा (ANFA) बीचको आन्तरिक कलहले गर्दा आगामी SAFF Women’s Championship 2026 मा हाम्रो सहभागिता नै संकटमा पर्नु भनेको खेलकुदकै उपहास हो। यी “प्रशासनिक रोक” र “समयसीमाको उल्लङ्घन” केवल कागजका कुरा होइनन्—यसको पछाडि हजारौँ खेलाडीहरूको पसिना, सपना र देशका लागि केही गर्ने वर्षौँको मेहनत लुकेको हुन्छ।

जब संस्थाहरू चल्न छोड्छन्, तब एउटा खेलाडीको भविष्यमा अन्धकार छाउँछ। हामी देशको गर्वका लागि खेल्छौँ, तर प्रशिक्षण क्याम्प, प्राविधिक तयारी र स्पष्ट कार्ययोजना बिना हामी मैदानमा कसरी उत्रिने?

नेपाल सरकार र एन्फालाई विनम्र अनुरोध:

खेलकुद जोड्ने माध्यम बन्नुपर्छ, प्रशासनिक दाउपेचको रणभूमि होइन। दुवै पक्षलाई तुरुन्तै आपसी सहमति खोज्न म हार्दिक आग्रह गर्दछु। खेलाडीलाई खेल्ने वातावरण दिनुहोस्। हाम्रो मेहनत गोवाको मैदानमा देखिनुपर्छ, बन्द कोठाको विवादमा हराउनु हुँदैन।

हाम्रा खेलाडीका सपनाहरूलाई प्रशासनिक पक्षाघातको सिकार नबनाउनुहोस्। हाम्रो भविष्य “जोखिम” मा होइन, तपाईंहरूको “प्राथमिकता” मा हुनुपर्छ।

0

0

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार