विराटनगर । कोशी प्रदेशमा बर्डफ्लु संक्रमण तीव्र रूपमा फैलिएपछि पोल्ट्री व्यवसाय संकटमा परेको छ। संक्रमण नियन्त्रण गर्न आइतबारदेखि प्रदेशकै ठूला दुई पोल्ट्री फार्मका २ लाख २७ हजारभन्दा बढी कुखुरा नष्ट गर्ने प्रक्रिया सुरु गरिएको छ। यो प्रदेशको हालसम्मकै सबैभन्दा ठूलो घटना हो।
भेटेरिनरी अस्पताल सुनसरीका प्रमुख डा. मनोजकुमार महतोका अनुसार सुनसरीको रामधुनीस्थित सुनसरी पोल्ट्री फार्ममा रहेका १ लाख ५५ हजार कुखुरा नष्ट गर्न लागिएको छ। संक्रमणले त्यहाँ करिब ७ हजार कुखुरा आफैँ मरिसकेका छन्। बाँकी कुखुरा नष्ट गर्न ११० जना कामदारको टोली परिचालन गरिएको छ।
त्यस्तै, मोरङको बूढीगंगास्थित पूर्वाञ्चल ग्रुपको फार्ममा पनि संक्रमण देखिएको छ। भेटेरिनरी अस्पताल मोरङका प्रमुख डा. अजयकुमार शाहका अनुसार उक्त फार्ममा रहेका ७२ हजारमध्ये करिब ४५ हजार कुखुरा नष्ट गर्ने तयारी पूरा भएको छ।
डा. महतोका अनुसार बर्डफ्लु संक्रमित कुखुरालाई औषधि वा रसायन प्रयोग गरेर मार्न मिल्दैन। टाउकोमा हिर्काएर मारेपछि डोजरले खनेको गहिरो खाल्डोमा चुन र ब्लिचिङ पाउडर प्रयोग गरी सुरक्षित रूपमा पुर्ने काम भइरहेको छ।
यसअघि नै बर्डफ्लुका कारण सुनसरी र मोरङका प्रभावित क्षेत्रमा डेढ लाखभन्दा बढी कुखुरा नष्ट गरिसकिएको छ। संक्रमणले अर्बौंको लगानी जोखिममा परेपछि स–साना किसानदेखि ठूला व्यवसायीसम्म मर्माहत बनेका छन्। सरकारले नष्ट गरिएका कुखुराको ७५ प्रतिशतसम्म राहत दिने कानुनी व्यवस्था गरे पनि प्रक्रियागत ढिलाइ र सीमित बजेटका कारण किसानहरू चिन्तित छन्।
हाल प्रशासनले प्रभावित क्षेत्रलाई सिल गरी मासु, अण्डा र दाना ओसारपसारमा कडा प्रतिबन्ध लगाएको छ। विज्ञहरूले आम उपभोक्तालाई मासु राम्ररी पकाएर मात्र खान र फार्महरूमा कडा जैविक सुरक्षा अपनाउन सुझाव दिएका छन्।




प्रतिक्रिया दिनुहोस्