राप्रपा विघटन गरौं, जसलाई जस्तो मन लाग्छ त्यस्तै पार्टी पुनर्निर्माण गरौं- रञ्जन कार्की

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का केन्द्रीय सदस्य रञ्जन कार्कीले तत्काल पार्टी सुधारतिर नलाग्ने हो भने विघटन गरेर जसलाई जस्तो बनाउन मन छ त्यस्तै पार्टी पुनर्निर्माण गर्नु उपयुक्त हुने बताएका छन्।

उनले आज ९ बुँदे धारणा सार्वजनिक गर्दै भनेका छन्, ‘पार्टी सुधारमा तत्काल नलाग्ने हो भने, यो पार्टीमा आबद्ध कयौं मजस्ता युवाहरूको भविष्य अन्धकार छ। भविष्य अन्धकार पार्ने पार्टी हुनुभन्दा विघटन गरेर जसलाई जस्तो पार्टी बनाउन मन छ त्यस्तै पार्टी पुनःनिर्माण गर्नु बेस हुनेछ। आम युवाहरू स्पष्ट हुन आग्रह गर्दछु।’

उनले पार्टी भित्रका यी गम्भीर विषयहरू उठाउँदा संविधानले दिएको अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित पार्ने प्रयासहरू भइरहेको पनि बताएका छन्।

राप्रपालाई वैचारिक रूपमा सुधार गर्दै स्पष्ट वैचारिक प्रतिबद्धताका साथ निर्वाचनअघि नै नवीन राजनीतिक समझदारी निर्माण गरेर मात्र फागुन २१ को निर्वाचन प्रक्रियामा सहभागी हुनु उपयुक्त हुन्छ भन्ने आफ्नो धारणा रहेको स्मरण पनि उनले गरेका छन्।

‘महाराजाधिराज सरकारको वक्तव्यले समेत निर्वाचनअघि नै समस्याको समाधान खोजेर मात्र निर्वाचनमा जानु उचित हुने सन्देश दिएको परिस्थितिमा यसले राप्रपाभित्र गम्भीर बहस र उकुसमुकुसको स्थिति सिर्जना गरेको थियो। यस सन्दर्भमा पार्टी नेतृत्वबाट भएका केही त्रुटिपूर्ण कदमहरूप्रति मेरो गम्भीर असहमति रहेको छ,’ उनले भनेका छन्।

यस्तो छ उनको धारणा-

१. गत महाधिवेशनबाट प्राप्त म्यान्डेटअनुसार पार्टी नेतृत्व अघि बढ्न नसक्नु। राजसंस्थावादी शक्तिहरूलाई एकीकृत गर्ने ऐतिहासिक जिम्मेवारीबाट नेतृत्व पन्छिनु। 

२. २/४ सिट जितेर सरकारमा जाने प्रवृत्ति अन्त्य गर्ने घोषित निर्णयलाई आफैले लत्याउनु।

३. उपप्रधानमन्त्रीको पद खानका लागि “संघीय गणतन्त्रलाई सुदृढीकरण गर्ने” लिखित सम्झौतामा हस्ताक्षर गर्दै प्रचण्ड नेतृत्वको सरकारमा सामेल भएको।

४. प्रदेश सरकार खारेजीको राप्रपाको मुख्य एजेन्डालाई लत्याउँदै प्रदेश सरकार र सभामुख, उपसभामुख पदहरूमा सोही पक्षीय व्यक्तिहरूलाई पठाएको।

५. चैत १५ र जेठ १५ गते राजसंस्थावादी आन्दोलनलाई कमजोर पार्ने, झारा टार्ने तथा आम नागरिकको आँखामा छारो हाल्ने खालका गतिविधिहरू गरेको र पार्टीका जिम्मेवार नेताहरू हिरासतमा हुँदासमेत पार्टीले संस्थागत प्रतिरक्षा नगरेको।

६. जेनजी विद्रोहलाई सम्बोधन गर्दै, भदौ २४ गते पार्टीका प्रवक्ताको नाममा जारी गरेको विज्ञप्तिमा “देशमा विकसित पछिल्लो घटनाक्रमबाट वर्तमान सरकार, संसद् र संविधानको औचित्य समाप्त भइसकेकोले प्रतिनिधिसभा र प्रदेशसभाका सदस्यहरूले सामूहिक राजीनामा दिई संसदबाट बाहिरिने निर्णय गरेको” तर, संविधान संशोधनको मागसमेत नगरी र सामूहिक राजीनामा नदिई पार्टीलाई वैचारिक रूपमा स्खलित गराएको।

७. पार्टीको विधानअनुसार संस्थागत निर्णय प्रक्रियालाई लत्याउँदै पटक-पटक विधान विपरीतका निर्णयहरू अध्यक्षबाट हुँदै आएको छ। पार्टी विधि र थितिअनुसार पार्टी नचलेको।

८. पार्टीलाई सुधार र सुदृढीकरण गर्नका लागि योग्य उम्मेदवारहरूलाई सुनियोजित अन्तर्घात गरेको।

९. पार्टी अध्यक्षलाई सार्वजनिक रूपमा पार्टीभन्दा बाहिरबाट समेत गम्भीर आरोप लाग्दा पनि उक्त आरोपहरूको खण्डन नगरी आम कार्यकर्तालाई लज्जाबोध हुने स्थिति भएको।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार