काठमाडौं । नेकपा एमालेको काठमाडौं उपत्यका प्रदेश कमिटीले फागुन २१ को निर्वाचनमा जनताका बीचमा पार्टीका दृष्टिकोणलाई स्थापित गर्न नसक्दा क्षति भएको निष्कर्ष निकालेको छ ।
पार्टी महासचिव शंकर पोखरेल समक्ष पेश निर्वाचन समीक्षा रिपोर्टमा पार्टी नेतृत्वले परिस्थितिको सही आँकलन गर्न नसक्नु क्षतिको अर्को महत्वपूर्ण कारण ठहर गरिएको छ ।
काठमाडौं उपत्यकाका तीन भौगोलिक र चार गैरभौगोलिक जिल्ला कमिटी तथा मातहत कमिटीहरुबाट संकलित निर्वाचन समीक्षाका बुँदालाई विश्लेषणात्मक रुपमा पेश गरिएको कमिटीका अध्यक्ष नारायण सिलवालले बताए । उनले भने, ‘भदौ २३ र २४ को जेन–जी आन्दोलनका घटनामा पार्टी अध्यक्ष तथा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई मुख्य दोषी करार गर्दै चलाइएका अफवाह गलत थिए, तर जनतालाई ती कुरा यति यति कारणले गलत हुन् भनेर हामीले बुझाउन सकेनौँ ।’
ओलीलाई फेरि प्रधानमन्त्रीका रुपमा किन अगाडि सार्नुपरेको थियो भन्ने विषयमा पार्टीले आफ्नो दृष्टिकोण बनाएको, तर त्यो कुरा जनतामा लैजान नसकिएको कुरा उक्त प्रतिवेदनमा उल्लेख गरिएको सिलवालले बताए ।
उनले भने, ‘धेरै साथीहरुको भनाइचाहिँ पार्टीले परिस्थितिको आँकलन ठीकसँगले गरेन भन्ने आयो, अब नयाँ निर्णय र संकल्पसहित अगाडि बढिएन भने अरुलाई भन्दा एमालेलाई सबभन्दा गाह्रो हुनेछ भन्ने कुरा सबै जिल्ला कमिटीका प्रायः साथीले उठाउनुभएको छ ।’
प्रतिवेदनबारे नेपाल प्रेससँग कुरा गर्दै अध्यक्ष सिलवालले भने–‘नयाँ निर्णय र संकल्पसहित अगाडि बढ्नुपर्छ । चुनौती सामना गर्नका लागि संस्थागत रुपमै पार्टीलाई पुनव्र्यवस्थित गर्नुपर्छ । केहीले परित्याग गर्दैमा पार्टी सकिँदैन, तर सुधार नगरी हुँदैन । यत्तिकै अगाडि बढिहाल्छ, घेराबन्दी भएरमात्रै चुनाव हारेका हौँ भन्यो भनेचाहिँ पार्टी शून्यमै पुग्छ । विचार, नेतृत्व, संरचना वा जनतासँग जोडिने एजेण्डामा जटिलता भए त्यसमा पनि सुधार गर्नुपर्छ भन्ने निष्कर्ष छ ।’




प्रतिक्रिया दिनुहोस्