काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतका १० वटा विषयगत समिति र २ वटा संयुक्त समितिले आज नयाँ सभापति पाउने भएका छन् । सम्बन्धित समितिको बैठकमा सभापति निर्वाचनको कार्यसूची तय गरिएको छ ।
संघीय संसद सचिवालयमा बिहीबार नै सबै समितिका सभापतिका लागि मनोनयन दर्ता भइसकेको छ । कानून, न्याय तथा मानवअधिकार समितिमा समीक्षा बास्कोटा, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा अशोक चौधरी, पूर्वाधार विकास समितिमा आशिष गजुरेल, महिला तथा सामाजिक मामिला समितिमा आकृती अवस्थी तथा राज्य व्यवस्था तथा सुशासन समितिमा हरि ढकालको उम्मेदवारी परेको छ ।
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापतिका लागि रास्वपाका डा. ओजस्वी शेरचन र एमालेका गुरु बरालबीच प्रतिस्पर्धा हुने भएको छ ।
यस्तै, सार्वजनिक लेखा समितिमा भरतबहादुर खड्का, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा सुम्निमा उदास, अर्थ समितिमा कृष्णहरि बुढाथोकी तथा उद्योग तथा वाणिज्य समितिमा रहवर अन्सारीको मनोनयन दर्ता भएको छ ।
संयुक्त समितितर्फ संसदीय सुनुवाइ समितिको सभापतिमा बोधनारायण श्रेष्ठको उम्मेदवारी परेको छ भने राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्याङ्कन समितिमा गणेश कार्की र मदनकुमारी शाह ‘गरिमा’ बीच प्रतिस्पर्धा हुनेछ ।
संसद सचिवालयका अनुसार आजको बैठकमा मनोनयनसम्बन्धी प्रस्ताव निर्णयार्थ प्रस्तुत गरिनेछ र निर्वाचित सभापतिको घोषणा गरिनेछ ।




प्रतिक्रिया दिनुहोस्