२ वैशाख, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको कार्याकक्षमा संसदीय दलका नेता बालेन्द्र शाह (बालेन)का लागि कार्यकक्ष तयार भएको छ ।
रास्वपा संसदीय दलका नेता बालेन्द्र प्रधानमन्त्री छन् । रास्वपा सभापति रवि लामिछानेका लागि पनि छुट्टै कार्यकक्ष छ ।
रास्वपाले मुख्य सचेतक र सचेतक चयन गरेको छैन । तर, मुख्य सचेतकका लागि कार्यकक्ष तयार भएको छ । रास्वपाले संसदीय दलको उपनेता पनि चयन गरेको छैन ।
रास्वपाको संसदीय दलको बैठक भने बिहीबार बिहान १२ बजे बस्दैछ । उक्त बैठकमा संसदीय समितिका सभापतिहरूको उम्मेदवारबारे छलफल गर्ने कार्यसूची छ ।
यसअघि रास्वपाको संसदीय दलको बैठक गत चैत २७ गते बसेको थियो । त्यसदिन उपसभामुखको निर्वाचन थियो । रास्वपाको समर्थनमा श्रम संस्कृति पार्टीकी रुबी कुमारी ठाकुर उपसभामुखमा निर्वाचित भएकी छन् ।
संसदीय समितिको सभापतिमा पनि रास्वपाको निर्णय नै निर्णायक हुन्छ । २७५ सदस्यीय प्रतिनिधि सभामा रास्वपाका मात्रै १८२ सांसद् छन् ।
संघीय संसद् अन्तर्गत १६ वटा संसदीय समिति रहेका छन् । प्रतिनिधिसभा अन्तर्गत १० वटा र राष्ट्रिय सभा अन्तर्गत ४ वटा समिति रहेका छन् । दुई वटा संयुक्त समिति रहेका छन् ।
राष्ट्रिय सभा अन्तर्गतका विषयगत समितिका सभापतिहरूको निर्वाचन यसअघि नै भइसकेको छ ।
प्रतिनिधिसभा अन्तर्गतका १० वटा र संयुक्त दुई वटा समिति सभापतिको निर्वाचन हुन बाँकी छ । यी समितिको सभापतिमा आगामी शुक्रबार निर्वाचन हुँदैछ । उम्मेदवारी मनोनयन दर्ता भने बिहीबार दिउँसो १ बजेदेखि ४ बजेसम्मको समय तय गरिएको छ ।




प्रतिक्रिया दिनुहोस्