काठमाडौं : वर्ष २०१६ मा रिलिज भएको बलिउड फिल्म ‘सनम तेरी कसम’बारे धेरैलाई थाहा छ । बक्सअफिसमा फिल्म फ्लप भयो तर यसको चर्चा सकिएको छैन ।
९ वर्षपछि पुनः हलमा आएको यो फिल्मले यतिबेला नयाँजीवन प्राप्त गरेको छ । यसले बक्सअफिसमा पहिलेभन्दा धेरै कमाइ गरेर सबैलाई चकित तुल्याएको छ । झण्डै दशकपछि हलमा फर्किएको फिल्मले भारतीय बक्सअफिसमा सफलता प्राप्त गरेको छ, जसलाई लिएर कसैले पनि अपेक्षा गरेका थिएनन् ।
राधिका राव र विनय सापरु निर्देशित फिल्मले अहिले पनि दर्शकको माया पाएको छ । फिल्ममा हर्षवर्धन राणे र मावरा होकान मुख्य भूमिकामा छन् ।
गत शुक्रबार भारतका हलमा पुनः रिलिज भएको फिल्मले पाँचौ दिन मंगलबार २.८५ करोड भारु कमायो । योसँगै फिल्मले रि-रिलिजमा २१ करोड भारु कमायो । शुक्रबार मात्रै ४ करोडको ओपनिङ गरेको थियो ।
शनिबार ५.२५ करोड भारु र आइतबार ५.७५ करोड भारु कमायो । बक्सअफिसमा नयाँ फिल्मको भीडन्त चल्दा पनि ‘सनम तेरी कसम’ले बक्सअफिसको स्थान बलियो राखेको छ । फिल्मले अहिले पनि दर्शकलाई हलसम्म तान्न सकेको छ ।
विशेषगरि, यसको प्रेमकथाले अहिले पनि दर्शकको मन जितिरहेको छ । फिल्म हेर्न पुराना र नयाँपुस्ताका दर्शक पनि हलमा पुगेको बलिउड संचारमाध्यमले जनाएका छन् । यसको कथाले भ्यालेन्टाइन्स मुड जगाउने मद्दत गर्ने जनाइएको छ । प्रणय दिवसको छेकोमा फिल्मले अझै कमाइ गर्ने प्रक्षेपण छ । जसले गर्दा प्रदर्शरत अन्य फिल्मको कमाइमा थप दबाब पर्ने अपेक्षा छ ।
प्रतिक्रिया दनुहोस्