काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कि सांसद आशिका तामाङले बजारमा देखिएको खाना पकाउने ग्यासको चरम अभाव र कालोबजारीप्रति सरकारको कडा ध्यानाकर्षण गराएकी छन्।
शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद तामाङले पसलहरूमा ग्यास भए पनि व्यापारीहरूले बिक्री नगरेको भन्दै आफूलाई दैनिक हजारौँ नागरिकले गुनासो गर्ने गरेको बताइन्।
“मलाई दिनमा हजारौँ कल आउँछन्, ‘आशिका दिदी, पसलमा ग्यास छ तर पसलेले ग्यास बेच्न मान्दैनन्’,” संसद्मा बोल्दै उनले भनिन्।
ग्यासको कृत्रिम अभाव सिर्जना गरेर नागरिकलाई दुःख दिने प्रवृत्तिप्रति प्रश्न उठाउँदै उनले सरकारभन्दा माफिया शक्तिशाली भएको हो कि भन्ने आशंका व्यक्त गरिन्। “यो त लासामा सुन छ, कान मेरो बुच्चै जस्तो भएन र सभामुख महोदय? के यो देशमा सरकारभन्दा ठूलो माफिया नै हो त?” उनले प्रश्न गरिन्।
पसलमा ग्यास देख्दादेख्दै पनि जनता भोकै बस्नुपर्ने बाध्यता सिर्जना भएको भन्दै सांसद तामाङले सरकारसँग जवाफ माग गरिन्। यदि वास्तवमै देशमा ग्यासको अभाव भएको हो भने सरकारले तत्कालै औपचारिक घोषणा गरेर नागरिकलाई विकल्प खोज्न भन्नुपर्ने उनको भनाइ थियो।
“यदि साँच्चिकै ग्यास छैन भने आजै, अहिले नै ग्यास छैन भनेर सरकारले घोषणा गरिदिनुपर्यो। जनतालाई दाउरा खोजेर भात पकाएर खाऊ भन्न सक्नुपर्यो,” उनले भनिन्।
साथै, समस्याको वास्तविक समाधान नगरी पटक-पटक मन्त्री फेर्ने प्रवृत्तिप्रति व्यङ्ग्य गर्दै उनले भनिन्, “महिनैपिच्छे ग्यासका लागि मात्र मन्त्रीहरू परिवर्तन गर्दै जाने हो भने ग्यासको लाइनभन्दा मन्त्रीहरूको लाइन बढी हुनेछ।”




प्रतिक्रिया दिनुहोस्