काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले तोकेको महाधिवेशनको मिति आउन अब करिब सय दिनमात्रै बाँकी छ । २०८२ साल वैशाख अन्तिम साता पहिलो महाधिवेशन गर्ने घोषणा यो पार्टीले गरेको थियो । तर, पार्टीले तय गरेको कार्यतालिका कार्यान्वयन भने सुस्त देखिन्छ ।
हालसम्म ७१ वटा जिल्लाको सम्मेलनबाट तदर्थ समिति गठन भएको छ । मनाङ, मुस्ताङ, पूर्वी रुकुम, डोल्पा, रसुवा र जुम्लामा त सम्मेलन नै हुन सकेको छैन । सम्मेलन नहुँदा ती संगठनको संरचना बन्ने कुरै भएन ।
रास्वपाले असोज पहिलो साता राष्ट्रिय भेलाबाट वैशाख अन्तिम साता पहिलो महाधिवेशन गर्ने निर्णय भएको थियो । त्यसउपर केन्द्रीय समितिमा हालसम्म छलफलको एजेण्डा नबनेको कार्यवाहक महामन्त्री कबिन्द्र बुर्लाकोटीले बताए ।
‘केन्द्रीय समितिले अहिलेसम्म महाधिवेशनको तालिकाको एजेण्डामा छलफल भएको छैन । अबको बैठकमा तालिका बारे छलफल हुन्छ,’ बुर्लाकोटीले भने ।
रास्वपाले फागुन पहिलो साता केन्द्रीय समितिको बैठक बोलाउने तयारी गरेको छ । जिल्ला, प्रदेशको अधिवेशनको समय र प्रतिनिधि छनोटको विधि केन्द्रीय समितिमा छलफल हुने बुर्लाकोटी बताउँछन् ।
अधिवेशन हुन नसकेका स्थानबाट प्रतिनिधि छनोटको विधिमासमेत पार्टीभित्र औपचारिक छलफल प्रारम्भ भएको छैन । राष्ट्रिय भेलाको निर्णय अनुसार पालिका र जिल्ला अधिवेशनको समय चैत महिनाका लागि छुट्याइएको थियो । २०८२ को वैशाखमा प्रदेश र केन्द्रीय अधिवेशन गर्नेगरी महाधिवेशनको कार्यतालिका बनेको थियो ।
प्रतिक्रिया दनुहोस्