गौरीगंगाको जनप्रिय माविमा शिक्षक नियुक्ति गर्न ‘विषय रूपान्तरण’ को खेल: सेटिङमा दरबन्दी हेरफेर गरेको आरोप !

कैलाली :- कैलालीको गौरीगंगा नगरपालिका वडा नम्बर ८ स्थित जनप्रिय माध्यमिक विद्यालयमा शिक्षक नियुक्तिका लागि मेयरको इशारामा आफ्ना निकटका व्यक्तिलाई जागिर खुवाउन विद्यालय व्यवस्थापन समितिको पुरानो निर्णयलाई लत्याउँदै ‘विषय रूपान्तरण’ को खेल पुनःचालिएको आरोप लागेको छ। विद्यालयमा रिक्त रहेका दरबन्दीहरूको विषय फेरबदल गरेर निहित व्यक्तिलाई पोस्न खोजिएको भन्दै स्थानीय सरोकारवालाहरूले कडा आपत्ति जनाएका छन्। विद्यालयमा रिक्त रहेको माध्यमिक तहको नगर अनुदानको नेपाली विषयको दरबन्दीलाई रूपान्तरण गरी अर्थशास्त्र विषयमा कायम गर्ने र यसअघि दुई वर्षदेखि रिक्त रहेको समाजशास्त्र विषयको दरबन्दीलाई तत्कालीन समयमा त्यसै विद्यालयमा कार्यरत एक जना शिक्षकलाई उच्च माध्यमिक तहको जागिर खुवाउन विद्यालय व्यवस्थापन समितिले दरबन्दीलाई नेपाली विषय बनाउने निर्णय गरेको भन्ने बताईएको छ तर, हाल आएर आफ्ना निकटका व्यक्तिलाई जागिर खुवाउन नगर प्रमुखदेखि विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरूसमेतको सेटिङमा नगर अनुदानको माध्यमिक तहको नेपाली विषयलाई रूपान्तरण गरी अर्थशास्त्र र माध्यमिक तहकै समाजशास्त्र विषयलाई रूपान्तरण गरी माध्यमिक तहकै नेपाली विषय बनाउने जालझेल थालिएको आरोप लागेको छ।

समाजशास्त्र विषय तत्कालीन उच्च माध्यमिक तहको राहतको दरबन्दी हो र उक्त राहतको दरबन्दीमा आफ्ना निकटका एक जना शिक्षकलाई ल्याउनका लागि समाजशास्त्र विषयलाई रूपान्तरण गरेर नेपाली बनाउन थालिएको हो। जब कि माध्यमिक तहको नगर अनुदानको नेपाली विषयको दरबन्दी छँदाछँदै त्यसलाई अर्थशास्त्र बनाइनु र माध्यमिक तहकै समाजशास्त्रको राहत दरबन्दीलाई माध्यमिक तहकै नेपाली विषय बनाइनु नगर प्रमुख र विद्यालय व्यवस्थापन समितिको निहित स्वार्थ रहेको स्पष्ट देखिएको विद्यालय व्यवस्थापन समितिका सदस्य तथा शिक्षक प्रतिनिधि जंगबहादुर देउवाले बताएका छन्। उनले आफू बिदामा रहेको दिन आकष्मिक बैठक बसाएर माध्यमिक तहको नगर अनुदानको नेपाली विषयको दरबन्दीलाई अर्थशास्त्र बनाउन र माध्यमिक तहकै समाजशास्त्रको राहत दरबन्दीलाई माध्यमिक तहको नेपाली विषय रूपान्तर गरिदिन भन्दै नगरपालिकालाई सिफारिस गर्नु नीतिगत भ्रष्टाचार भएको बताएका छन्। नगरप्रमुख देवीदत्त कँडेलले नै आफूलाई फोन गरेर नगर अनुदान र राहत अनुदानको विषय रूपान्तरणमा सहयोग गरिदिन भनेको बताउँदै उनले मेयर आफैँ यो विषय रूपान्तरणको विषयमा लागिपरेका कारण यसबाट पनि केही न केही स्वार्थ लुकेको स्पष्ट देखिने उल्लेख गरेका छन्।

यसैबीच, उच्च माध्यमिक तह (२) को समाजशास्त्र विषयलाई नेपाली बनाउने र माध्यमिक तहको नगर अनुदान नेपाली विषयलाई अर्थशास्त्र बनाउने निर्णय गरेर समितिले नगरपालिका पठाइएको तथा नगर शिक्षा समितिबाट उक्त निर्णय पास हुन बाँकी रहेको तथ्य बाहिर आएको छ। विद्यालयमा हाल जुन दरबन्दी कायम छ, त्यसैमा विज्ञापन गरेर पारदर्शी रूपमा शिक्षक नियुक्ति हुनुपर्ने माग गर्दै स्थानीयले नगरपालिकाले विद्यालय व्यवस्थापन समितिको यो गलत निर्णय रोकेर साविककै दरबन्दी कायम गराउनुपर्ने जोडदार माग गरेका छन्। यी दुवै निर्णयमा अभिभावकहरूको विमती रहेको छ र विद्यालयमा समाजशास्त्र विषयको आवश्यकता हुँदाहुँदै विषय परिवर्तन गरिएको भन्दै सरोकारवालाले प्रश्न उठाउँदै आएका छन्। यसअघि नेपाली विषय आवश्यक रहेको भन्दै निर्णय गरेको विद्यालय व्यवस्थापन समितिले अहिले नेपाली विषयकै शिक्षक पद रिक्त हुँदा सोही विषयमा पदपूर्ति गर्नुको सट्टा रिक्त नगर अनुदान कोटालाई अर्थशास्त्र विषयमा रूपान्तरण गर्नु र माध्यमिक तहकै राहत दरबन्दीको समाजशास्त्रलाई परिवर्तन गरी नेपाली बनाउने चलखेल गर्नु विद्यार्थी र विद्यालयको हित विपरीत भएको शिक्षाप्रेमी बसन्त कँडेलले बताएका छन्। सरोकारवालाका अनुसार विद्यालयमा विषयगत शिक्षकको आवश्यकता, विद्यार्थी संख्या तथा शैक्षिक आवश्यकतालाई प्राथमिकता दिनुपर्नेमा फरक–फरक समयमा विषय तथा दरबन्दी हेरफेर गर्ने निर्णयले विद्यालय व्यवस्थापनको पारदर्शिता र निर्णय प्रक्रियामाथि गम्भीर प्रश्न उठाएको छ।

नगरप्रमुख कँडेलको इशारामा विद्यालय व्यवस्थापन समितिको यो विवादास्पद निर्णय अघि बढाइएको आरोप लगाइएको छ। स्थानीय सरोकारवालाले विद्यालयमा शिक्षक दरबन्दी तथा विषय परिवर्तन गर्दा व्यक्तिगत वा राजनीतिक स्वार्थभन्दा विद्यार्थीको शैक्षिक आवश्यकता, विषयगत शिक्षकको वास्तविक आवश्यकता र विद्यालयको दीर्घकालीन हितलाई आधार बनाउन माग गरेका छन्। विद्यालय व्यवस्थापन समितिका पछिल्ला निर्णयहरूबारे थप विवाद बढ्दै गएपछि सम्बन्धित निकायले निर्णय प्रक्रियाको वैधानिकता, आवश्यकता र पारदर्शिताबारे अध्ययन गर्नुपर्ने आवाजसमेत उठ्न थालेको छ। नगरपालिकाभित्रका शिक्षाका विकृति तथा विसंगति र विद्यालय हित विपरीतका गतिविधि गर्दा नियमनकारी निकायका रूपमा रहेको नगरपालिका र नगरप्रमुख नै विद्यालय व्यवस्थापन समितिको गलत निर्णयको अनुमोदन गर्न लालायित रहेको स्थानीयको गुनासो छ। यद्यपि, नगरपालिकाका नगरप्रमुख देवीदत्त कँडेलले भने अभिभावक, विद्यार्थी र विद्यालयको आवश्यकताका आधारमा शिक्षा समितिले नियमसम्मत रूपमा निर्णय गर्ने स्पष्ट पारेका छन्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार