काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालन समय बढ्दा अन्तर्राष्ट्रिय उडानमा सहजता आउने अपेक्षा गरिएको छ । धावनमार्ग विस्तारका कारण दैनिक १० घण्टा बन्द रहँदै आएको विमानस्थल अब शनिबारदेखि दैनिक केवल ८ घण्टा मात्र बन्द रहनेछ । यसले उडान संख्यामा वृद्धि भई टिकट मूल्यसमेत सस्तो हुने अपेक्षा गरिएको हो ।
अब विमानस्थल बिहान ७ बजे खुल्ने र राति ११ बजे बन्द हुनेछ । यसअघि १४ घण्टासम्म सञ्चालनमा रहेको विमानस्थलको सञ्चालन अवधि बढेर १६ घण्टा पुग्दा करिब १२ प्रतिशत उडान थपिने अनुमान गरिएको छ । नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूलका अनुसार बिहानको समयमा आन्तरिक उडानहरू बढी हुने हुँदा सात बजे खुल्दा थप १५ वटा आन्तरिक उडान व्यवस्थित गर्न सकिनेछ । बेलुका अन्तर्राष्ट्रिय उडानको चाप उच्च हुने हुँदा राति ११ बजेसम्म विमानस्थल सञ्चालन हुँदा थप पाँचवटा उडान र पाँचवटा अवतरण गरेर कुल १० वटा उडानको सुविधा दिन सकिनेछ ।
सञ्चालन अवधि थपिएसँगै विमानस्थलमा उडान समयका कारण रोकिएको केही उडान कार्यक्रम अब सहज रूपमा पूरा गर्न सकिने प्राधिकरणले जनाएको छ । यसअघि विभिन्न वायुसेवा कम्पनीहरूले थप उडानको माग गरे तापनि समय अभावका कारण अनुमति दिन नसकिएको भए पनि अब भने नयाँ कार्यतालिकाअनुसार ती मागहरू पूरा गर्न सकिनेछ ।
उडान सङ्ख्या बढेपछि अन्तर्राष्ट्रिय हवाई भाडामा समेत गिरावट आउने अपेक्षा गरिएको छ । नागरिक उड्डयन प्राधिकरणका अनुसार प्रतिस्पर्धात्मक भाडा प्रणालीका कारण उडान संख्या बढेसँगै हवाई भाडा स्वतः घट्नेछ ।
नेपाल असोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)का अध्यक्ष कुमारमणि थपलियाका अनुसार, उड्डयन प्राधिकरणले पूर्वसूचना नदिएकाले टिकट मूल्य घट्न केही समय लाग्नेछ । यदि प्राधिकरणले दुई महिना पहिल्यै सूचना जारी गरी विन्टर सेड्युल संशोधन गरेको भए, सुरुबाटै थप सिटहरू उपलब्ध हुने थिए । अब यसको प्रभाव देखिन करिब १०-१२ दिन लाग्ने अनुमान गरिएको छ ।
थपलियाका अनुसार, गत नोभेम्बर महिनामा काठमाडौं-दिल्ली एकतर्फी हवाई भाडा ५० हजार रुपैयाँसम्म पुगेको थियो, जुन अबको साता दुईतर्फी नै ३२ हजार रुपैयाँमा पाइने सम्भावना छ । यसका साथै दुबई लगायतका अन्य गन्तव्यहरूको भाडा पनि घट्ने अपेक्षा गरिएको छ ।
पहिले दैनिक २१ घण्टा खुला रहने त्रिभुवन विमानस्थल सञ्चालन समय घटेर १४ घण्टा हुँदा अन्तर्राष्ट्रिय उडानमा करिब ३० प्रतिशत कटौती भएको थियो । तर अब, नयाँ कार्यतालिकासँगै यात्रुहरूलाई सहजता प्रदान गर्दै उडान दरलाई पुनः नियमित अवस्थामा ल्याउने प्रयास गरिएको छ ।





प्रतिक्रिया दिनुहोस्