काठमाडौं : सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)मा पोखरा एभेन्जर्सले कर्णाली याक्सलाई १०४ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको पोखरा एभेन्जर्स १६.३ ओभरमा अल आउट हुँदै १०३ रनमा समेटियो । पोखरालाई सस्तैमा समेट्न विलियम बोसिस्टोले घातक बलिङ गरे ।
४ ओभर बलिङ गरेका बोसिस्टो एक्लैले ६ विकेट लिए । उनले २८ रन मात्रै खर्चिए । सोमपाल कामी, विपिन शर्मा र युनिष ठकुरीले समान १–१ विकेट लिए । टस जितेर पहिले ब्याटिङ रोजेको पोखराले सुखद सुरुवात गरे पनि लामो समय कुनै ब्याटर क्रिजमा टिक्न सकेनन् । ओपनर दिनेश खरेल र आन्द्रेस गौसले शानदार सुरुवात गरेका थिए । तर, दुवै ओपनर आउट भएपछि पोखराको ब्याटिङ धरमरायो ।
ओपनर दिनेश खरेलले २६ र आन्द्रेस गौसले २५ रन बनाएर आउट भए । दोस्रो नम्बरमा ब्याटिङ गर्न आएका कप्तान कुशल भुर्तेलको ब्याट आज पनि चलेन । भुर्तेलले १० रन मात्रै बनाउन सके । रेमन रेफरले २० र विपिन खत्रीले १० रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।
म्याट क्रिचले शून्य रनमा आउट भए । दिलिप नाथले ३ रनको योगदान दिँदा माइकल लिस्कले २ रन मात्रै बनाउन सके ।नारायण जोशी र आकाश चन्दले १–१ रन मात्रै जोड्न सके । सागर ढकाल शून्य रनमा नट आउट रहँदा विपिन खत्री १० रनमा रन आउट भए ।
प्रतिक्रिया दिनुहोस्