धनगढी । कैलाली बहुमुखी क्याम्पसको शिक्षक पदपूर्ति प्रक्रिया स्थगित भएको छ । शिक्षक पदपूर्ति प्रक्रियाका विषयमा अख्तियारमा मुद्दा परेपछि सम्पूर्ण प्रक्रिया तत्कालका लागि स्थगित भएको हो ।
पदपूर्ति प्रक्रिया स्थगित गर्न सुदूरपश्चिम विश्वविद्यालय रजिस्ट्रारको कार्यालयले कैलाली बहुमुखी क्याम्पसको नाममा पत्र नै काटेको छ । कार्यालयले मंसिर १० गते नै क्याम्पसका नाममा पत्र काटेको थियो । जुन पत्र कैलाली बहुमुखी क्याम्पसमा ११ गते दर्ता भएको छ । तर क्याम्पसभित्रको आन्तरिक किचलो छताछुल्ल हुने डरले उक्त पत्र गुपचुप राखिएको थियो ।
हाल रजिस्ट्रारको कार्यालयले क्याम्पसका नाममा काटेको उक्त पत्र कल २४ न्युजले फेला पारेको छ ।
जहाँ पूर्णकालीन शिक्षण सहायक (करार) सेवामा पदपूर्तिको प्रक्रिया प्राविधिक कारणले अर्को व्यवस्था नभएसम्मका लागि स्थगित गर्न निर्देशन दिइएको छ । पदपूर्तिको प्रक्रिया रोक्न क्याम्पसलाई पत्र पठाएको पुष्टि गर्दै सुदूरपश्चिम विश्वविद्यालय रजिस्ट्रारको कार्यालयका रजिस्ट्रार यज्ञराज पाठकले पदपूर्ति प्रक्रियाका विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेकोले तत्कालका लागि पदपूर्तिको सम्पूर्ण प्रक्रिया स्थगित गरिएको जानकारी दिएका छन् ।
त्यस्तै, उनले उक्त विषयमा छानबिन गर्न २ सदस्यीय छानबिन समिति समेत गठन भइसकेको र समितिले काम पनि सुरु गरिसकेको बताएका छन् । पाठकका अनुसार छानबिन समितिको निष्कर्षपछि पदपूर्तिको प्रक्रियालाई निरन्तरता दिने वा पुनः शून्यबाट सुरु गर्ने विषयको टुंगो लाग्ने बताएका छन् ।
रजिस्ट्रारको कार्यालयले प्राविधिक कारण भने पनि पदपूर्ति प्रक्रिया स्थगित हुनुको कारण क्याम्पसभित्रैको राजनीति भएको चर्चा सुरु भएको छ । ‘यो क्याम्पसमा राजनीति धेरै हुन्छ । जहाँ पनि, जे मा पनि राजनीति घुसाइहाल्छन्’, नाम नबताउने सर्तमा एक विद्यार्थी नेताले भने, ‘यो केस पनि क्याम्पसभित्रको आन्तरिक द्वन्तले निम्ताएको हो । आफ्नो मान्छे वा आफैँ पदपूर्ति हुने अवस्था नदेखेपछि आफैँले अख्तियारमा उजुरी हाल्न लगाएका हुन् ।’
यता कैलाली बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख तोय राज भट्टले पनि पदपूर्ति प्रक्रियाका विषयमा अख्तियारमा उजुरी परेका कारण तत्कालका लागि पदपूर्तिको प्रक्रिया स्थगित भएको स्वीकारेका छन् । तर कलेज भित्रको आन्तरिक द्वन्दका कारण पदपूर्ति स्थगित भएको स्वीकार्न भने उनी तयार भएनन् । कसैले अख्तियारमा उजुरी हालेको र उक्त विषयमा छानबिन गर्न समिति समेत गठन भएको भन्दै क्याम्पस प्रमुख भट्टले छानबिनपछि पदपूर्ति हुने बताएका छन् ।
त्यसो त कैलाली बहुमुखी क्याम्पससँगै टिकापुर बहुमुखी क्याम्पस लगायतले पनि पदपूर्तिको सूचना निकालेका थिए । ती क्याम्पसहरुमा प्रक्रियाअनुसार शिक्षक पदपूर्तिसमेत भइसकेको छ । तर कैलाली बहुमुखी क्याम्पसभित्रको आन्तरिक द्वन्द र राजनीतिका कारण यहाँ भने अझै पदपूर्ति हुन सकेको छैन । उल्टै पदपूर्ति स्थगित भएको छ ।
प्रतिक्रिया दिनुहोस्