काठमाडौं : पश्चिम सेती जलविद्युत् परियोजनाको क्षमता ७ सय ५० मेगावाटबाट बढाएर आठ सय मेगावाट पुर्याइएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बिहीबार सिंहदरबारमा बसेको लगानी बोर्ड बैठकले पश्चिम सेतीको क्षमता थप ५० मेगावाट बढाउने निर्णय गरेको हो ।
प्रतिस्पर्धाबिनै पश्चिम सेती जलविद्युत् आयोजना पाएको भारतीय कम्पनी एनएचपीसी लिमिटेडले क्षमता बढाउन र सर्वेक्षण अनुमतिपत्रको म्याद थप्न लगानी बोर्डलाई भनेको थियो । सोहीअनुसार पश्चिम सेतीको क्षमता विस्तारसँगै सर्वेक्षण अनुमतिपत्रको अवधि एक वर्ष थपिएको लगानी बोर्डका प्रवक्ता प्रद्युम्न उपाध्यायले बताए ।
एनएचपीसीले यसअघि नै पश्चिम सेतीको डीपीआरको मस्यौदा बुझाइसकेको छ । उक्त मस्यौदा विज्ञहरूले अध्ययन गरिरहेको समेत उपाध्यायले बताए । विज्ञहरूको सुझावपछि मात्रै अन्तिम मस्यौदातर्फ जाने उपाध्यायले बताए । स
यसअघिको अध्ययनअनुसार सात सय ५० मेगावाट क्षमताको पश्चिम सेती आयोजनाको लागत एक हजार तीन सय २० मिलियन अमेरिकी डलर र चार सय ५० मेगावाट उत्पादन क्षमताको एसआर–६ आयोजनाको लागत आठ सय मिलियन अमेरिकी डलर बराबर अनुमान गरिएको थियो ।
लगानी बोर्ड, नेपाल र एनएचपीसी लिमिटेडबीच ०७९ भदौ २ मा भएको समझदारीपत्रमा व्यावसायिक उत्पादन सुरु भएपछि २१.९ प्रतिशत बिजुली दिनुपर्ने उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस्