भेडापालनमा लागेका भोजपुरका किसान ऊन बिक्री नभएपछि….

भोजपुर : व्यावसायिक भेडापालनमा लागेका भोजपुरका किसान ऊन बिक्री नभएपछि चिन्तामा परेका छन् । किसानको राम्रो आम्दानीको स्रोतका रूपमा रहेको ऊन बिक्री नभएपछि उनीहरू चिन्तामा परेका हुन् । 

गाउँघरमा परम्परगत रूपमा गरिँदै आएको राडीपाखी बुन्ने पेसा लोप हुन थालेपछि उत्पादन भएको ऊन बिक्री हुन छाडेको टेम्केमैयुङ–२ का भेडापालक किसान गोविन्द कठेतले जानकारी दिए । मैयुङ क्षेत्रका भेडापालक किसानसँग रहेको गत वर्षकै करिब एक सय धार्नी ऊन बिक्री नभएको उनको भनाइ छ ।

Dengue

“पछिल्लो समय भेडाको ऊन बिक्री हुन छाडेको छ”, कठेतले भने, “गाउँघरमा राडीपाखी बुन्ने चलन हराउँदै गएसँगै ऊन बिक्री हुन छाडेको छ । ऊन नै बिक्री हुन छाडेपछि चिन्ता थपिएको छ ।”

विगतका वर्षहरूमा ऊन गोठबाट नै प्रतिधार्नी सात सयमा बिक्री हुने गरेको थियो । अहिले छिमेकी जिल्ला खोटाङ पुर्याएमा मुस्किलले प्रतिकेजी रु १५० मा बिक्री हुने उनको भनाइ छ । ढुवानीलगायत कारण यसरी बिक्री गरिएको ऊनबाट किसानलाई लाभ नहुने उनले जानकारी दिए । त्यहाँसम्म पुर्याउन नै समस्या रहेको कठेतले बताए । उत्पादित ऊन बिक्री नहुँदा कुहिएर जाने अवस्था आएको छ । 

ऊनबाट बनेको राडीपाखी लुकुनीलगायत बजारमा राम्रो माग भए पनि उत्पादनमा समस्या रहेको उनले बताए । राडीपाखी बुन्ने काम नयाँ पुस्ताको रोजाइमा नपर्दा कच्चा पदार्थका रूपमा रहेको ऊन नै बिक्री हुन नसकेको उनको भनाइ छ ।

किसान कठेतले विगत १५ वर्षअघिबाट व्यावसायिक रूपमा भेडापालन व्यवसाय गर्दै आएको बताए । भेडालाई वर्षमा दुईपटक मुन्डन गरिने उनको भनाइ छ । आफूसँग रहेका ५० वटा भेडालाई मुन्डन गर्दा एकपटकमा सात धार्नीसम्म ऊन उत्पादन हुने उनको भनाइ छ । गत वर्षको ऊन नै बिक्री नभएको कठेतले बताए । ऊनालु चारवटा भेडाको एक धार्नी ऊन उत्पादन हुने उनको भनाइ छ । 

हाल मैयुङ क्षेत्रमा भोजपुर र खोटाङ गरी २० वटा भेडीगोठ रहेको उनले जानकारी दिए । एक भेडीगोठमा न्यूनतम एक सयदेखि अधिकतम पाँच सय वटासम्म भेडा रहेको उनले जानकारी दिए । यहाँको मैयुङ, छिमालुङ, गिद्धे, मेरुङलगायत स्थानमा भेडापालन हुने गरेको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार