धनगढी: कैलाली उद्योग वाणिज्य संघले संस्थाको कार्यक्षमता अभिवृद्धि र व्यावसायिक हकहितको संरक्षणलाई थप प्रभावकारी बनाउने उद्देश्यले सल्लाहकार तथा विशेष परामर्श समिति गठन गरेको छ। संघले विभिन्न क्षेत्रका अनुभवी व्यक्तित्वहरूलाई समेट्दै नयाँ पदाधिकारीहरू मनोनयन गरेको हो।
संघका अध्यक्ष पुष्करराज ओझाले हालै एक कार्यक्रमका बीच नवमनोनीत पदाधिकारीहरूलाई औपचारिक रूपमा मनोनयन पत्र हस्तान्तरण गरेका छन्। कार्यक्रममा बोल्दै अध्यक्ष ओझाले निजी क्षेत्रका अनुभवी व्यक्तित्वहरूको प्रत्यक्ष मार्गदर्शनले सुदूरपश्चिमको व्यावसायिक क्षेत्रलाई थप व्यवस्थित, सबल र गतिशीलता प्रदान गर्न महत्त्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गरे।
संघद्वारा जारी गरिएको जानकारी अनुसार गठित नयाँ सल्लाहकार समितिको संयोजकमा दिनेश राज भण्डारी मनोनयन भएका छन् भने यस समितिका सदस्यहरूमा तीर्थ राज पन्त, टेक राज जोशी र प्रकाश चन्द्र भट्ट रहेका छन्। यसअघि नै कानुनी सल्लाहकार वीरबहादुर जेठारा प्रेस सल्लाहकार श्रवण देउबा र चिरञ्जीवी बस्नेत यसअघि नै सल्लाहकारका रुपमा मनोनीत भइसकेका छन्। त्यसैगरी, संस्थालाई थप नीतिगत र व्यावहारिक सुझाव दिनका लागि गठन गरिएको विशेष परामर्श समितिमा जय राज जोशी, देव बहादुर बम, शिवकुमार फुलारा, महेश विष्ट, विष्णुप्रसाद वुर्लाकोटी र डिल्ली राज शर्मालाई मनोनयन गरिएको छ।

मनोनयन पत्र ग्रहण गर्दै नवमनोनीत सल्लाहकार तथा परामर्श समितिमा रहेका सदस्यहरूले स्थानीय स्तरका उद्योगी तथा व्यवसायीहरूले भोगिरहेका समस्याहरूको गहिरो पहिचान गरी तिनको समाधानका लागि संघसँग हातेमालो गर्दै दृढताका साथ अघि बढ्ने प्रतिबद्धता जनाएका छन्। यस किसिमको समिति गठनले सुदूरपश्चिमको समग्र व्यावसायिक क्षेत्रको विकासमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।




प्रतिक्रिया दिनुहोस्