विराटनगरबाट काठमाडौंका लागि उडेको बुद्ध एयरको जहाजभित्रै सिकिस्त भएका नाबालकको मृत्यु

काठमाडौँ : विराटनगर विमानस्थलबाट यात्रु लिएर काठमाडौंका लागि उडेको बुद्ध एयरको जहाजभित्रै सिकिस्त भएका नाबालकको मृत्यु भएको छ । उदयपुरको त्रियुगा नगरपालिका–३ मोतीगडाका ताराकिरण राईका ५ वर्षीय छोरा संयोगहाङ राईको मृत्यु भएको प्रहरीले जनाएको छ ।

यूफोर ७१० कल साइन भएको जहाज विराटनगरबाट ५७ जना यात्रु लिएर बुधबार दिउँसो १२: २४ बजेतिर काठमाडौंका लागि उडेको थियो । जहाज उडिरहेका बेला नाबालकलाई अचानक श्वासप्रश्वासमा समस्या भएपछि फर्काएर विराटनगर नै ल्याइएको बुद्ध एयर विराटनगरका स्टेशन मेनेजर कौशल भण्डारीले बताए । फर्काइएको जहाज १२:५९ बजेतिर विराटनगरमा ल्याण्ड गरेको थियो । ‘श्वासप्रश्वासमा समस्या भएर बच्चा सिकिस्त भएपछि बीचैबाट जहाजलाई फर्काएर विराटनगर ल्याण्ड गराइयो । तत्काल एम्बुलेन्समा राखेर उपचारका लागि अस्पताल पठाइयो,’उनले भने, ‘जहाजबाट निकाल्दा बच्चाको अवस्था सामान्य थियो । श्वासप्रश्वास चलिरहेको थियो ।’

Dengue

बच्चालाई आकस्मिक समस्या परेपछि यात्रुसहित जहाज विराटनगर नै फर्काउनु परेको भण्डारीको भनाइ छ । उनका अनुसार जहाजमा चढ्ने बेलामा पनि बच्चाको अवस्था सामान्य नै थियो । जहाजले उचाइ लिने क्रममा अक्सिजनको कमी भएर बच्चालाई श्वासप्रश्वासमा समस्या भएको हुनसक्ने भण्डारीले बताए । उनले जहाजलाई कहाँबाट फर्काइयो भन्ने यकिन नभएको बताए । बच्चालाई बाहिर निकालिसकेपछि भने जहाज यात्रु लिएर काठमाडौं गएको जानकारी भण्डारीले दिए । 

नाबालकलाई जहाजबाट बाहिर निकालेर उपचारका लागि विराट नर्सिङ होम एवं विराटनगर अस्पताल लगिएको थियो । अस्पताल पुर्‍याउनसाथ दिउँसो १:३५ बजेतिर चिकित्सकले मृत घोषित गरेका हुन् । अस्पतालका बालरोग विशेषज्ञ डा. दीपराज अधिकारीका अनुसार नाबालकलाई उपचारका लागि मंगलबार राति नै भर्ना गरिएको थियो । 

एक्स–रे गरेर हेर्दा सानो आन्द्रामा अवरोध देखियो । आन्द्राको ‘ब्लक’ खुलाउन तत्काल शल्यक्रिया गर्नुपर्ने हुन्थ्यो । अस्पताल ल्याउँदा नै बच्चाको अवस्था गम्भीर थियो,’डा. अधिकारीले भने । तर, शल्यक्रिया गर्न नमानेर अभिभावकले थप उपचारका लागि काठमाडौं लिएर गएको उनको भनाइ छ । 

‘यस्तो सिकिस्त अवस्थाको बच्चालाई थप गाह्रो हुने भएकाले तत्काल अप्रेशन गर्नुपर्छ भनेर सल्लाह दिएका थियौं । तर,अभिभावकले काठमाडौं लैजान्छौं भन्नुभयो,’ उनले भने, ‘अभिभावककै आग्रहमा हामीले कागज गरेर बच्चालाई अस्पतालबाट बिदा दियौं । हाम्रो सल्लाह उहाँहरूले मान्नु भएन ।’

अवस्था गम्भीर रहेकाले बच्चा तलमाथि हुनसक्छ भनेर भन्दा पनि अभिभावकले आफ्नै ‘रिक्स’मा लिएर गएको डा. अधिकारीको भनाइ छ ।  ‘अस्पतालले बिदा दिएको करिब ३ घण्टापछि बच्चालाई गाह्रो भयो भनेर पुनः ल्याउनु भयो । अस्पतालको आकस्मिक कक्षमा ल्याइपुर्‍याउँदा मृत्यु भइसकेको थियो,’डा. अधिकारीले भने, ‘मृत्यु भएको करिब ४५ मिनेटजति भइसकेको थियो होला ।

बुद्ध एयरले नाबालकलाई सामान्य अवस्थामै अस्पताल पठाइएको दाबी गरेको छ । तर,अस्पतालले भने जहाजभित्रै मृत्यु भइसकेको हुनसक्ने अनुमान गरेको छ । उपचारका लागि ल्याइपुर्‍याउँदा बच्चाको मृत्यु भइसकेको अस्पतालले जनाएको छ । डा.अधिकारीका अनुसार अस्पताल ल्याउनुभन्दा करिब ४५ मिनेटअघि नै मृत्यु भएको अनुमान छ । अस्पताल र विमानस्थलबीचको दुरी करिब ३ किलोमिटर छ ।  

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

100%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार