एमाले नेता ऐन महर र सिराज अहमदको यतिसम्म बिग्रिएछ नियत

कैलाली : नदिइकनै स्वीकृत हुने कस्तो राजीनामा थियो त्यो, जुन माइन्युटमा समेत लेखियो । यसरी दिनुपर्नेले नदिइकन राजीनामा स्वीकृत गर्ने पार्टीका रुपमा दर्ज हुन पुगेको छ, एमाले ।

चारित्रिक र आर्थिक मामिलामा केही नेताको आपत्तिजनक संलग्नतापछि विभिन्न किसिमको रमिताकाबीच युवा नेता ऐन महरको हकमा हो, नलेखिकनै राजीनामा स्वीकृत भएको । बझाङको बुङ्गल नगरपालिका– २ का नेता अर्जुन धामीकी छोरी तथा वडा नं. १ का एमाले कार्यकर्ता अमर बोहोराकी पत्नी रश्मिलासँगको आपत्तिजनक सम्बन्धलाई लिएर पार्टीदेखि परिवारसम्म किचलोमा परेका ऐनलाई राजीनामा दिन भनिएको थियो । निर्देशन बमोजिम काम गरेनन् तर, केन्द्रीय सचिवालयको माइन्युटमा भने उनको राजीनामा स्वीकृत भएको व्यहोरा लेखियो । 

dashain shuvakamana
Discovery School

अखिलको अध्यक्ष भइसकेपछि चुनावकेन्द्रि गतिविधि गर्न गत वर्ष सुदूरपश्चिम स्थित गृह जिल्ला बझाङ पुगेका ऐनले अर्काकी पत्नी माथि आँखा मात्रै लगाएनन्, जेठी पत्नी त्यागेर उनीसँग विवाह नै गर्ने बाचासमेत दोहोर्‍याए ​​​ । बाबु समानका समाजवादी नेता भानुभक्त जोशीलाई हराउन काठमाडौंबाट पार्टी अध्यक्षले ‘जितेर आइज’ भन्दै टिकट दिएर पठाउनुभयो ।

तर, अर्को विवाह गर्ने धन्दामा लागेपछि न चुनाव जिते, न युवतीसँग विवाह नै भयो । बरु, त्यही कारण राजनीतिक जीवन नै धरापमा परेको छ । पटक–पटक अन्तरंग सम्बन्ध राखेपछि महर टाढिन खोजे । ऐनले धोका दिन थालेपछि आफ्नो जीवनमाथि खेलबाड भएको भन्दै रश्मिला विभिन्न ठाउँमा पुगिन् । यसपछि बल्ल उनीहरुको सम्बन्धबारे चर्चा हुन थालेको हो ।

ऐनले काठमाडौंको नेवार समुदायकी चेलीसँग विवाह गरेका छन् । स्नातकोत्तर गरेकी महर पत्नी विभिन्न कलेजमा पढाउँछिन् । रश्मिलासँगको सम्बन्धबारे बजारमा गाइँगुइँ हुन थालेपछि ऐनले भाइसहितका ‘केटाहरुको’ जत्था बनाएर धम्क्याउने, तर्साउने काम थाले । त्यसपछि महिलाले ऐनसँगको दुई घण्टा ३७ मीनेट १७ लामो अडियो सार्वजनिक गरिदिइन् । त्यो अडियो अध्यक्ष ओलीको घरसम्मै पुग्यो, उहाँले सुन्नुभयो र ऐनसँग रिसाउनुभयो । अध्यक्ष नै रिसाएपछि पार्टीबाट कारवाही हुने नै भयो । नत्र, त्यसअघिसम्म केन्द्रदेखि जिल्लासम्म राम्रै दादागिरी चल्ने गरेको थियो । उनले अघिल्लो जिल्ला अधिवेशन नै कब्जा गरेर आफू अनुकूलका युवाहरुलाई निर्वाचित भएको घोषणा गरेका थिए । अहिले पनि जिल्ला अधिवेशन कब्जै गर्ने तरिकाले अगाडि बढेका थिए । तर, विवादकै कारण स्थगित छ । 

एमाले सचिवालय बैठकमा चर्चाको अर्का पात्र थिए, सिराज अहमद फारुकी । उनी पनि ऐनसँगै केन्द्रीय सदस्यबाट निश्कासनमा परेका छन् । काण्ड हो, ठगीको । उनले गत वर्ष जसपाबाट एमाले पसेकी सर्लाहीकी पूर्वसांसद रुही नाजलाई समानुपातिकबाट प्रतिनिधिसभा सदस्य बनाइदिन्छु भन्दै १५ लाख रुपैयाँ लिएका थिए । तर, न सांसद बनाए, न पैसा फिर्ता गरे । समानुपातिकतर्फ एमालेले मुस्लिम कोटामा एक सीटमात्रै पायो । रुहीको नाम पनि मुस्लिम महिलातर्फ पहिलो नम्बरमै थियो ।

तर, पार्टी केन्द्रीय सदस्य पनि भएको कारण उक्त एक सीटमा सिराज आफैं सांसद भए । रुहीका श्रीमान् एमालेको तर्फबाट सर्लाहीमा वडाध्यक्ष छन् । उनले रुहीसँग पैसा माग्दा भनेका थिए, ‘हाम्रो पार्टीमा चलनै कस्तो छ भने, अध्यक्ष र महासचिवहरुले केही भन्नुहुन्न । भन्नुपर्ने कुरा हामीलाई भन्न लगाउनुहुन्छ । हामीले जम्मा गरेर दिने हो ।’ भर्खरै एमाले प्रवेश गरेकी उनलाई लाग्यो, ‘साँच्चै नै होला ।’ प्रत्यक्षतर्फ चुनाव उठ्नुपर्‍यो   भने तराईंमा कम्तिमा दुईदेखि तीन करोड खर्च  गर्नुपर्ने हुन्छ । समानुपातिकमा १५ लाख तिरेर हुने भए त्यो मौका किन गुमाउने ? भन्दै रुहीले पैसा दिएकी हुन् । 

सांसद बनाउनु त कता कता सिराजले लामो समयसम्म पैसा पनि फिर्ता नगरेपछि रुही पुगिन् बालकोट । उनको कुरा सुनेर ओली छक्क पर्नुभयो । भन्नुभयो, ‘हाम्रो पार्टीमा कहाँ यस्तो हुन्छ ? तपाईंलाई ठगेछन् ।’ पछि ओलीले सिराजलाई बोलाएर सोध्नुभयो । शुरुमा त होइन भनेर टारे । ओली निकै रिसाएपछि बल्ल कुरा खोले, छोरालाई दिल्ली पठाउनुपर्ने, पैसा नभएर सापटी लिएको भन्दै । ‘सापटी लिएपछि तिर्नुपर्दैन त ?’ ओली यसो भन्दै रिसाउनुभयो । पार्टी अध्यक्ष रिसाउँदासम्म पनि सिराजले पैसा फिर्ता गरेनन् । त्यसपछि रुही प्रहरीकहाँ ठगीको जाहेरी लिएर पुगिन् । प्रहरीले सिराजलाई बोलाएर सोध्यो । पैसा फिर्ता गर्ने भए जाहेरी दर्ता नगर्ने भन्यो । त्यसपछि उनले चार–पाँच पटक गरेर साट्न मिल्ने गरी फरक फरक मितिका चेक दिए । पैसा पनि साटियो । 

सिराजको बदमासी यतिमा मात्रै सिमित छैन । अर्को ठगी गरे, वीरगञ्ज पुगेर । त्यहाँका सांसद राजकुमार गुप्ताको पिए भनेर आफ्नो र सप्तरीका अर्का युवाको नाम लेख्दै विदेश जाने चक्करमा लागे । त्यो कुरा राजकुमारका पिएसओले देखिरहेका थिए । उनले राजकुमारलाई फोन गरेर भनिदिए, ‘यहाँ त हजुरको पिए भनेर अर्कै मान्छेको नाम लेखिरहेको छ ।’ यिनै काण्डमा परेर सिराजले पार्टी जिम्मेवारी गुमाएका हुन् । 

ओली चेत र हविगत

अहिले पनि अमरेश सिंहले भन्ने गर्छन्, ‘म र कृष्ण सिटौला पहिला एउटै गुटमा थियौं, हाम्रो टोली नेताचाहिँ केपी ओली ! हाम्रो काम थियो, भारतले जे–जे भन्यो, त्यही मान्नुपर्ने !’नेपालको राजनीतिक रंगमञ्चमा यो कालखण्ड थियो, २०६६–०६७ ताका, जतिबेला माधवकुमार नेपाल प्रधानमन्त्री हुनुहुुन्थ्यो भने विद्या भण्डारी रक्षा मन्त्री । उहाँले पनि भन्ने गर्नुहुन्थ्यो, ‘भारत हाम्रो मुठ्ठीमा छ किनकि यो भारतले बनाइदिएको सरकार हो ।’

यस्तोखाले राजनीतिक चेत बोकेका झुण्डबाट अगाडि बढ्दै दुई–दुई पटक देशको प्रधानमन्त्री भइसक्नुभएका केपी ओलीले बल्ल बुझ्नुभएको छ– यस्तो राजनीतिक चेत र चरित्रले कहाँ पुर्‍याउँदो रहेछ ! शुक्रबार पार्टी कार्यालय, च्यासलमा बसेको बैठकमा उहाँले भन्नुभयो, ‘हामी प्रतिपक्षी हौं, तर न सडकमा, न सदनमा कतै पनि प्रतिपक्षीय भूमिका भएन ।’ पार्टीदेखि संसदसम्म ‘भक्तजन’ जम्मा पारेपछि उनीहरु ‘पूजापाठ’ मा नै व्यस्त हुने भए । जनताको बीचमा कोही नजाने नै भए ।

जो पार्टी, संगठन र राजनीति भनेर लागेका छन्, उनीहरु भूमिकाबाहिर छन् । तिनीहरु कुन परिचयले जनतामा जाने ? अहिले एमाले यही स्थिति भएको उक्त पार्टीका नेताहरु बताउँछन् ।ओलीले ‘पार्टीभित्र गन्हाएर डुङडुङ्ती छ, धान्न गाह्रो छ’ भन्दै मनको भडास पोख्नुभएको छ । तर, मैले गल्ती गरेँ भन्नुभएको छैन । (जनआस्थाबाट)

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार