महिला स्वास्थ्यकर्मीमाथि नै हुन्छ छाउपडी विभेद

बैतडी-ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवा दिने महिला स्वास्थ्यकर्मीमाथि नै छाउपडी विभेद हुने गरेको पाइएको छ । महिला स्वास्थ्यकर्मीले डेरा नपाउने, महिनावारी भएका बेला खानेपानीको धारा छुन नपाउने जस्ता विभेद खेप्नु परेको स्वास्थ्यकर्मीले गुनासो गरेका छन् ।

जिल्ला स्वास्थ्य कार्यालय बैतडीले आधारभूत स्वास्थ्य सेवाको स्तरीय उपचार पद्धतिका बारेमा आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा देहीमाडौँ स्वास्थ्य चौकीका इन्चार्ज निर्मला पन्तले महिनावारी भएका बेला पानीको धारा छुन नदिने गरेको पीडा सुनाउनुभयो । 

Dengue

मेलौली नगरपालिकाको महारुद्र स्वास्थ्य चौकीका अहेव सरिता न्यौपानेले गाउँलेले महिला स्वास्थ्यकर्मीलाई महिनावारी हुनु भयो कि नाई ? बच्चा जन्माउँदा छुनु भयो कि  ? भन्दै प्रश्न सोध्ने गरेको बताउनुभयो । 

सुत्केरी महिलालाई छोएको भए स्वास्थ्यकर्मीलाई खानेपानीको धारामा नगइदिन निर्देशन आउने गरेको दोगडाकेदारकी वरिष्ठ अहेव डम्बरा विष्टले बताउनुभयो । 

गाउँमा हुने उपचार पद्धति सुधार गर्न ग्रामीण स्वास्थ्य चौकीका इन्चार्जका लागि तीन दिने अभिमुखीकरण आयोजना गरिएको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले बताउनुभयो । 

उहाँले भन्नुभयो, “सर्वसाधारणको उपचार गर्न गाउँमा खटिएका स्वास्थ्यकर्मी नै विभेदको सिकार हुनु परेको छ । स्थानीय सरकारले यस्ता कुरीति हटाउन पहल चाल्नुपर्ने देखिन्छ ।”

दलित महिला स्वास्थ्यकर्मीले गाउँमा डेरा पाउनसमेत मुस्किल हुने गरेको गुनासो आएको छ । बैतडीमा एक जिल्ला अस्पताल, दुई वटा प्राथमिक स्वास्थ्य केन्द्र र स्वास्थ्य चौकी गरेर १०४ वटा स्वास्थ्य संस्था रहेका छन् । 

ग्रामीण स्वास्थ्य संस्थामा अनमी र स्टाफ नर्सले बिरामीको उपचारदेखि प्रसूति सेवा दिँदै आएका छन् । गाउँका डाक्टर भनेर चिनिने महिला स्वास्थ्यकर्मीमाथि नै छाउपडी विभेद हुने गरेको छ । 

छाउपडी विभेद गर्न नपाइने कानुन भए पनि पीडित स्वास्थ्यकर्मी आफैँ कानुनी उपचार गर्न भने जाने गरेका छैनन् । बिरामीको सेवा गर्ने कि मुद्दा लड्न जाने ? भन्ने द्विविधा र सुरक्षा चुनौतीका कारणले स्वास्थ्यकर्मी विभेद सहेर बस्न बाध्य भएको पाइएको छ । 

गाउँमा बसेर काम गर्नुपर्ने भएकाले छाउपडी विभेद खेप्ने महिला कानुनी उपचारमा जान सहज वातावरण नभएको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले बताउनुभयो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार