अशिक्षा र गरिबीको दूरावस्था, २६ वर्षमा १२ सन्तान !

बझाङ । बस्तीभन्दा झण्डै एक किलोमिटर टाढा, अग्लो डाँडाको काखमा एक झुपडी । त्यसैमा बस्छ, सात सदस्यीय एक परिवार । नजिकै छ, डेढ दर्जनबढी वस्तुभाउ अटाउने गोठ । झुपडीसँगै टाँसिएको तबेला । आँगनमा यत्रतत्र छरिएका लुगाकपडा, भाडाँकुडादेखि काठ दाउरा सबै । यो अव्यवस्थित दृश्य हो, खप्तडछान्ना गाउँपालिका–७ गोरखाली खानडाँडाको ।

खानडाँडामा भिट्टु खड्काको परिवार बसेको एक दशक भयो । चिरापाणि (परिवारलाई चिनिने टोल)मा बुबाको साँघुरो घर चार भाइलाई भाग लागेपछि नअटाएको भन्दै भिट्टुको परिवार खुला ठाउँ खानडाँडामा गोठ बनाएर बसेको रहेछ । बस्तीभन्दा टाढा भए पनि खन्दै स–सानो बारी (जमिन) जोडेका रहेछन् । बालबालिका नाबालक हुँदादेखि नै खानडाँडा बसेका खड्कालाई सुरूआती दिनमा भने परिवार पाल्न त्यति समस्या भएन । बालबालिका हुर्कंदै जाँदा उनका समस्याका पहाडहरू आँखै अगाडि आए । लामो समयपछि जोगिएका सन्तानको पालनपोषण गर्न खड्का दम्पतीको शक्ति हराउँदै गयो । बालबालिका शिक्षाबाट वञ्चित भए । हिलो, धुलो, कुपोषणको समस्याबाट गुज्रँदै किशोरावस्थामा पुगे ।

२६ वर्षमा १२ सन्तानलाई जन्म
भिट्टुकी श्रीमती बेलु खड्काको उमेर ४० वर्ष भयो । केदारस्यूँ गाउँपालिकाको रजाडामा माइतीघर भएकी बेलु र भिट्टुले विसं २०५४ मा बिहे गर्नुभयो । अहिले खड्का दम्पती दाम्पत्य जीवनमा प्रवेश गरेको २६ वर्ष भइसक्यो । यो अवधिमा बेलुले १२ सन्तानलाई जन्म दिइसकेका छन् । खड्का दम्पतीको पहिलो सन्तान बिहे गरेको दोस्रो वर्ष (२०५५ साल) मै जन्मियो । तीन महिना नपुग्दै सन्तान गुमाउनु परेपछि निकै तनावमा भए खड्का दम्पती । अर्को वर्ष नपुग्दै दोस्रो सन्तान जन्मियो । दोस्रो पनि तीन÷चार महिनाको बीचमै गुम्यो ।

तेस्रो, चौथो हुँदै सातौँसम्म लगातार सन्तान गुमाएपछि उनीहरुले गाउँ नै छोड्ने निधो गरे । ‘गाउँलेले अब तिम्रो जिन्दगी सकियो, निःसन्तान हुने भयौ भनेपछि गाउँमा बस्ने मनै भएन’, भिट्टु सम्झन्छिन्, ‘गाउँ नफर्किने गरी जाने मन थियो, तर जाने ठाउँ नै भएन । न त जाने खर्च नै । चरम पीडालाई च्यापेर त्यतै टाँस्सियौँ ।’

भिट्टु जीवनबाट निराश हुँदै मदिरातर्फ सल्किनुभयो । त्यो बीचमा फेरि आठौँ सन्तानको रूपमा छोरीको जन्म भयो । छोरी जन्मेको एक सातामै उनीहरु गडरायका वैद्य (जडीबुडी डाक्टर) को सल्लाहमा गए । पछि वैद्यको औषधिले पहिलो सन्तान जोगायो । पहिलोसहित लगातार दुई छोरी जन्मिएपछि फेरि गाउँलेले छोरा जन्मिएन भनेर कुरा काट्न थाले । गाउँले होच्याइरहेको बेला उनको छोरा जन्मियो । भिट्टुले छोरा जन्मिएको खुसियालीमा गाउँलेलाई ऋण निकालेर एक हप्तासम्मै छैठी (जन्मको उत्सव) खेलाइन् ।

सन्तान हुर्कदै गएपछि घरमा बस्न निकै साँघुरो भयो । त्यसपछि उनीहरु खानडाँडामा गोठ बनाएर बसे र कान्छो छोरा हर्कको जन्म पनि खानडाँडामै भयो ।

१२ वर्षमा छोरीलाई विद्यालय भर्ना
आर्थिक अवस्था कमजोर र विद्यालय टाढा भएकै कारण खड्काले छोराछोरीलाई किशोरावस्था प्रवेशसँगै विद्यालय पठाइन् । जेठो छोरीले नपढे पनि माइलो छोरीसहित पछिका सन्तानलाई अहिले विद्यालयमा भर्नासम्म गरेकी छिन् ।रिरा खड्का भिट्टुकी माइली छोरी हुन् । उनको उमेर १४ वर्ष भयो । अहिले उनी ३ कक्षामा पढ्छिन् । कान्छी छोरी १२ वर्षीया जौकला र ११ वर्षीय छोरा दीपकलाई भिट्टुले एक कक्षामा भर्ना गरिदिएकी छिन् । नौ वर्षीय हर्कलाई भने सानै उमेर भन्दै विद्यालय पठाएको छैन ।

यता भिट्टु भने गरिबीको कारण कुनै सन्तानलाई पनि विद्यालय पठाउन नसकेको बताउछिन् । ‘सबैका छोराछोरी पढ्न जान्छन् । आफ्ना छोराछोरीलाई पनि विद्यालय पठाउन मन लाग्छ । तर, लुगाकपडा त के, कापी कलमसमेत किन्नलाई पैसा हुँदैन ।’ उनी भक्कानिइन्, ‘हामीलाई त मान्छेले मात्रै होइन, भगवान्ले सबै ठग्यो ।’

घर जलेर पीडामाथि पीडा
खानडाँडामै तीन वर्षअघि खड्काको घर जलेर नष्ट भयो । आगलागी भएपछि निभाउन सक्ने अवस्था नै रहेन । ‘डाँडामा भएको घर । निभाउनका लागि माटो मात्रै विकल्प थियो, पानीको हाहाकार । पिउनलाई एक किलोमिटर टाढाबाट बोकेर ल्याउनुपथ्र्यो । दुई ÷चार नजिकका छिमेकीले साना–साना भाँडामा पानी लिएर आउँदासम्म खरानी भइसकेको थियो ।’ खड्का सम्झन्छिन् । खड्काको गोठमा तीन बाख्रा थिए । घरसँगै बाख्रा पनि पूर्ण रूपमा जलेर नष्ट भए । बेलुले भने, ‘हामी बेहोस भइसकेका थियौँ । गाउँले आएर आगो फैलन दिएनन् । माटोले निभाएछन् । पछि हेर्दा बाख्राको त खप्परबाहेक सबै नष्ट भइसकेछ । पछि गाउँमा मुचुल्का गर्नुपर्ने कुरा उठेको थियो । त्यो पनि ढिला भइसकेको रहेछ ।’

घरमा बाकस नहुँदा महत्वपूर्ण सरसामान पनि जोगाउन नसकेको उनले सुनाए । ‘बाकस थिएन, ज्याला गरेर जम्मा पारेको १२ हजार रूपैयाँ पनि छानोको भित्तामा राखेका थियौँ’, बेलु भन्छन् , ‘भरखर किनेका चार÷पाँच ब्लांकेट, सबै जनाका एक÷एक जोर नयाँ लुगा, भरखर ल्याएका दुई बोरा चामल र गहुँ छुनै नपाएर नष्ट भए ।’ त्यस यता अहिलेसम्म कसैका लागि पनि कपडा किन्न नसकेको उनले बताए ।

खड्काका अनुसार घरमा सबै सामान लगाएर साढे पाँच लाखसम्मको सम्पति जलेर खरानी भयो । आफन्तहरूले कपडा भाँडाकुँडा र केही दिनका लागि खाद्यान्न सहयोग गरे । त्यसपछि लेकबाट निगालो ल्याउँदै डोका डालो बेचेर आएको पैसाले कोदो, धान किनेर खाने गरेको भिट्टुले बताइन् । रासस

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार