अछाममा गएराति भएको जिप दुर्घटनाका घाइते मध्य एक जनाको उपचारका क्रममा मृत्यु भएको छ।
थप दुई जना घाइतेको उपचार जारी छ।
जिल्लाको कमलबजार नगरपालिका– ७ का ३४ वर्षीय कर्ण भाटको उपचारका क्रममा गएराति १२ बजेपछि उपचारका क्रममा जिल्ला अस्पताल मंगलसेनमा मृत्यु भएको हो।
अछामका प्रहरी प्रमुख डिएसपी ओमप्रकाश खनालका अनुसार मृतक कर्णका छोरा १३ वर्षीय मीनबहादुर भाट र सोही ठाउँका ३० बर्षीय बद्री भाट घाइते छन्।
उनीहरु दुवैको अवस्था मध्यम रहेको छ।
घाइते दुवै जनालाई जिल्ला अस्पतालको उपचारपछि थप उपचारका लागि कर्णाली प्रादेशिक अस्पताल सुर्खेत रेफर गरिएको छ।
गएराति ९ बजेतिर कवालेखस्थित भित्री कच्ची सडक खण्डमा मंगलसेनदेखि कवालेखतर्फ जाँदै गरेको से १ ज ६१३ नम्बरको जीप दुर्घटना भइ सडकदेखि झन्डै दुई सय मिटर मुनि खसेको थियो।
दुर्घटनालगत्तै फरार चालक जिल्लाको तुर्माखाँद गाउँपालिका – ३ का २६ वर्षीय पुष्प बुढा फरार भएका थिए। आइतबार बिहान ५ बजेतिर घटनास्थल भन्दा झन्डै एक किलोमिटर टाढा लुकिछिपी बसेको अवस्थामा फेला पारी प्रहरीले चालक बुढालाई पक्राउ गरेको डिएसपी खनालले बताए।
डिएसपी खनालका अनुसार चालक बुढाले मापसे गरी जिप चलाएको स्वीकार गरेका छन्।
केही दिन अघिको बर्षाले बाटो बिगार्नु र राम्रो संग स्टेयरिङले काम नगर्नु जस्ता कारणहरुले जिप दुर्घटनामा परेको प्रहरी समक्ष चालक बुढाले दाबी गरेका छन्।




प्रतिक्रिया दिनुहोस्