काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले वन्यजन्तुको अखेटोपहार (हात्तीको दाह्रा) सहित पाँच जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ।
पक्राउ पर्नेमा बैतडीका पुरन बोहरा, काठमाडौँका राजीव महर्जन र आयुष महर्जन, तथा गोरखाका सन्तबहादुर भुजेल र टेकप्रसाद गुरुङ रहेका छन्।
प्रहरीका अनुसार काठमाडौँको मनमैजु क्षेत्रमा अवैध रूपमा हात्तीको दाह्रा ओसारपसार, बिक्री वितरण तथा सञ्चय भइरहेको सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको हो।
अनुसन्धानका क्रममा राजीव महर्जनको घर नजिकैको खाली जग्गामा गाडेर राखिएको अवस्थामा दुई थान हात्तीको दाह्रा बरामद गरिएको प्रहरीले जनाएको छ। साथै, उनको कोठाबाट १५० क्याप्सुल ट्रमाडोल–५० लेखिएको लागुऔषध पनि फेला परेको छ।
पक्राउ परेकामध्ये केहीलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ र केहीलाई लागुऔषध नियन्त्रण ऐन २०३३ अन्तर्गत कारबाही अघि बढाइएको प्रहरीले जनाएको छ। उनीहरूलाई थप अनुसन्धानका लागि सम्बन्धित निकायमा पठाइएको छ।





प्रतिक्रिया दिनुहोस्